९ माघ २०७७, शुक्रबार

गण्डकीमा हिमाल आरोहण प्रवद्र्धन गरिँदै

फाइल फोटो

हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण पहिलोको सफल आरोहण गरेसँगै विश्वमा हिमाल आरोहणले चासो र चर्चा पाएको थियो । आरोहणको जेठो हिमाल अन्नपूर्ण पहिलोसहितका धेरै अग्ला तथा विभिन्न उचाइका हिमाल रहेर पनि गण्डकीमा हिमाल आरोहणले गति भने लिएको पाइँदैन ।

हिमाल आरोहणको इतिहास बोकेको गण्डकी क्षेत्रमा हिमाल आरोहण पर्यटनलाई अघि बढाउने उद्देश्यका साथ नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशले यतिखेर प्रवद्र्धनको कार्यक्रमलाई अघि बढाउन लागेको सङ्घका अध्यक्ष शेषकान्त शर्माले बताउनुभयो ।

मौरिस हर्जाेगको टोली आरोहणमा जाँदा र आउँदा बसेका पोखरासहित गण्डकीका विभिन्न स्थान त्यसपछि मात्र पर्यटकीयरुपमा उपयोग हुन थालेका छन् । पछिल्लो समयमा गण्डकी प्रदेशले आफूलाई पर्यटनको राजधानीका रुपमा स्थापित गर्दै गएको छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण थलिएको पर्यटनलाई उकास्नका लागि पर्यटनसम्बद्ध सङ्घसंस्थाले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको अवस्थामा नेपाल पर्वतारोहण सङ्घले प्रदेशमा हिमाल आरोहणको प्रवद्र्धन गर्ने लक्ष्यका साथ छ हजार १२ मिटर उचाइको धम्पुस पिकको आरोहण गर्न लागिएको अध्यक्ष शर्माले बताउनुभयो ।

“हिमाल आरोहणको इतिहासमा जेठो प्रदेश भएर पनि गण्डकीमा आरोहणका गतिविधि अत्यन्त कम छन्”, उहाँले भन्नुभयो, “प्रदेशमा हिमाल आरोहणका गतिवधि बढाउने सोचका साथ सञ्चारकर्मीसहितको टोलीले चाँडै नै धम्पुस पिक आरोहण गर्ने योजना अघि सारेका छौँ ।”

मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथमको आरोहण गरेसँगै बढ्दै गएको पर्यटकीय गतिवधि र त्यसको एक दशकपछि सन् १९६० देखि पोखरामा ‘हिप्पी’ पर्यटकको आगमन भएको पर्यटनका जानकार बताउँछन् । सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा गरेको पदयात्राले समग्र गण्डकी प्रदेशलाई हिमाल आरोहणका साथै पदयात्रा पर्यटनको आकर्षक गन्तव्य पुष्टि गरेको हो । हिमाल आरोहण र पदयात्रा पर्यटनको जगमा भएको हिप्पी पर्यटकको आगमनपछि पोखराको पर्यटकीय पूर्वाधार विकास सन् १९८० को दशकदेखि विस्तारै फस्टाउन थालेको पाइन्छ ।

गण्डकी प्रदेशमा अन्नपूर्ण, धवलागिरि, मनास्लु जस्ता हिश्रृङ्खला छन् । अन्नपूर्ण हिमश्रृङ्खलाअन्तर्गत सात हजार मिटरभन्दा बढी उचाइका अन्नपूर्ण पहिलोसहित, दोस्रो, तेस्रो र चौथो, अन्नपूर्ण साउथ, गङ्गापूर्ण, बराह शिखर हिमाल छन् । अन्नपूर्ण श्रृङ्खलाअन्तर्गत नै तिलिचो पिक, नीलगिरि, लम्जुङ आदि हिमाल रहेका छन् ।

त्यस्तै गण्डकीकै धवलागिरि हिश्रृङ्खलामा सात हजार मिटरभन्दा माथिका धवलागिरि पहिलोसहित दोस्रो, तेस्रो र चौथो, गुर्जा, चुरेन जस्ता हिमाल रहेका छन् । धवलागिरि श्रृङ्खलामा नै सीता चुचुरा हिमाल पर्दछ । गण्डकी प्रदेशभित्रकै मनास्लु हिमश्रृङ्खलामा मनाश्लु, ङ्यादीचुली, हिमाल चुली, बौद्ध हिमाल आदि रहेका छन् ।

विभिन्न हिमश्रृङ्खलामा धेरै सङ्ख्यामा हिमाल समेटिए पनि यहाँका हिमालमा खासै आरोहण हुने गरेको छैन । हिमाल आरोहणको नेपाल सरकार पर्यटन विभाग र नेपाल पर्वतारोहण सङ्घले व्यवस्थापन गर्ने गर्दछन् ।

नेपाल पर्वतारोहण सङ्घले नेपालका विभिन्न २७ हिमालको आरोहणको व्यवस्थापन गर्दै आएकामा गण्डकीमा मात्रै छ वटा हिमाल पर्दछन् । जसमध्ये चुलुइष्ट छ हजार ५८४ मिटरको उचाइमा छ भने सिन्गुचुली छ हजार ५०१ मि, हिउँचुली छ हजार ४४१ मि, चुलु वेष्ट छ हजार ४१९ मि, लाक्र्या पिक छ हजार ४१६ मि र पिसाङ पिक छ हजार ९१ मिटर उचाइमा छन् ।

पछिल्ला समयमा पिसाङ पिक हिमाल आरोहणका लागि चर्चामा आउने गरेको छ । गण्डकी प्रदेशमा धेरै हिमाल रहेर पनि आरोहणका दृष्टिबाट पछि परेको नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताउनुभयो ।

“गण्डकीमा हिमाल आरोहणलाई पनि राम्रो पर्यटकीय गतिविधिका रुपमा विकास गर्ने सम्भावना छ”, उहाँले भन्नुभयो, “हिमाल आरोहणको प्रवद्र्धनका माध्यमबाट यसलाई एउटा महत्वपूर्ण पर्यटकीय गतिविधिका रुपमा समेटेर लैजानुपर्दछ ।”

नेपाल पर्वतारोहण सङ्घसँगको सहकार्यमा प्रवद्र्धनात्मक कार्यक्रमलाई अघि बढाइने उहाँले बताउनुभयो ।