७ बैशाख २०८१, शुक्रबार

कोरोनाका कारण धकेलियो सदरमुकाम झार्ने खानेपानी

water tap

कोरोनाका कारण श्रमिक र निर्माणका सामग्री उपलब्ध नहुँदा इलाममा सञ्चालित ‘इलाम बजार तेस्रो साना शहरी खानेपानी आयोजना’ छ महिनापछि धकेलिएको छ ।

इलाम नगरवासीमा खानेपानीको सहज पहुँचमा पुर्याउन नगरले दुई वर्षअघि साझेदारी कार्यक्रमअन्तर्गत खानेपानीको आयोजना शुरु गरेको थियो । यही चैतभित्र खानेपानी झार्ने योजना बनाएपछि सम्भव नहुने देखिएको छ । हालसम्म खानेपानीको ७० प्रतिशत काम मात्र भएको छ ।

पाइप लाइन विस्तार गर्ने काम सकिएको छ भने ट्याङ्की बनाउने काम भइरहेको छ तर निर्धारित मितिमा सक्न योजनाबद्धरूपमा काम भइरहेको आयोजना समितिका अध्यक्ष केदार थापाले जानकारी दिनुभयो ।

आयोजनामा कार्यरत अधिकांश श्रमिक तराई मूलका छन् । कोरोनाले बन्दाबन्दीका समयमा घर फर्काएको तर समयमा आउन नसक्दा निर्धारित समयमा काम नसकिने भएको हो । दुई वर्षभित्र काम सकिने गरी सम्झौता गरिएको थियो । बयालिस किमी टाढा सन्दकपुर गाउँपालिकाबाट पानी ल्याउन लागिएको हो । हालसम्म पाइप बिछ्याउने काम भने ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

निर्माणका लागि इलाम नगरपालिकाको स्वामित्वमा सञ्चालन हुने आयोजनाको रमण कन्स्ट्रक्सन कम्पनीले रु ५७ करोड ९५ लाख सात हजारमा ठेक्का लिएको छ । खानेपानी आयोजना सञ्चालनका लागि २५ प्रतिशत नगर विकास कोषबाट रु १४ करोड ४८ लाख ७६ हजार ७५० ऋण लिएको छ । बीस वर्षमा साँवा र ब्याज भुक्तानी गर्नेगरी पाँच प्रतिशत ब्याजदरमा कोषबाट ऋण लिइएको हो ।

त्यस्तै उपभोक्ताबाट लागत सहभागिताको पाँच प्रतिशत रु दुई करोड ८९ लाख ७५ हजार ३५० मार्फत आयोजना सञ्चालन गर्न लागिएको हो । आर्थिक वर्ष ०७७÷७८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने आयोजनाका लागि एशियाली विकास बैंक (एडिबी) ले ७० प्रतिशत अनुदान उपलब्ध गराउने जनाएको थियो । गत ३१ मार्च २०१९ मा ठेक्का सम्झौता भएको आयोजना ३१ मार्च २०१९ मा सम्पन्न गर्ने सम्झौता गरिएको थियो ।

सम्पन्न भएको एक वर्ष आयोजनाले नै मर्मतसम्भार गर्ने जनाएको छ । एडिबीको आर्थिक सहयोगमा इलाममा अहिलेसम्मकै ठूलो खानेपानी आयोजना सञ्चालन हुन लागेको हो । खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चारवटा खोलाको मुहानबाट पानी ल्याउने तयारी छ ।

आयोजनाबाट सदरमुकाममा प्रतिसेकेण्ड ४१ लिटर पानी आउने छ । साना शहरी आयोजनाले हेरेको र अहिले पानी आपूर्ति भइरहेको खानेपानी आयोजनाको मुहान एउटै हो । साना शहरीले सदरमुकामबाट करिब ३२ किलोमिटरको सन्दकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति डिजाइन तयार भएको छ ।

नगरमा अहिले आइरहेको खानेपानीकै दुईवटा मूल प्रयोग गरिने छ भने थप तीन वटा नयाँ प्रयोग गरिने छ । पुरानो आयोजनाबाट पानी पर्याप्त नभएपछि नगरले नयाँ आयोजना शुरु गरेको हो । नगरभित्र २४ घण्टै खानेपानी झार्न यो आयोजना निर्माण थालिएको हो । हाल नगरमा प्रतिदिन एकदेखि दुई घण्टा मात्रै पानी आउने गरेको छ । आयोजनाको शुरुको वर्ष दुई हजार ७९८ घरधुरीका २१ हजार ४३३ उपभोक्तालाई दिनको १०० लिटरको दरले खानेपानी पुग्ने अनुमान आयोजनाको छ ।

बीस वर्षपछि यही आयोजनाको खानेपानी उपभोग गर्ने उपभोक्ताको सङ्ख्या ३० हजार ३२५ पुग्ने अनुमान छ । नगरवासीलाई खानेपानीको सहज पहुँज पुर्याउन यो आयोजना ल्याइएको हो । नगरमा केही वर्ष पहिले पनि सन्दकपुरबाटै खानेपानी ल्याइएको छ तर त्यो पानीले पर्याप्त नभएपछि नयाँ आयोजना थप गरिएको हो । आयोजनाका अनुसार पानी नगरमा पाँच वितरण केन्द्रमार्फत वितरण गरिने छ ।

अध्यक्ष थापाका अनुसार इलाम सदरमुकामस्थित गुम्बा डाँडा, भ्युटावर, गोलाखर्क, महेन्द्र रत्न बहुमुखी क्याम्पस र पुरानो आदर्श खसी बजारबाट वितरण गरिने छ । वितरणका लागि गुम्बा डाँडा र महेन्द्र रत्न क्याम्पसमा ५०÷५० हजार लिटर र अन्य तीनवटा ट्याङ्की एक लाख ५० हजार लिटरका रहने जनाइएको छ । आयोजनाको लागि पानी परीक्षणस्थलको काम पनि तीव्ररूपमा भइरहेको छ । पाइप बिछ्याउने र ट्याङ्की निर्माण सकिएपछि निर्माण सम्पन्न हुने जनाइएको छ । यता नगरले नै खानेपानीको सहज पहुँच पुर्याउन वडा नं ११ स्थित सोयाकमा ‘डिप बोरिङ’मार्फत जमिन खनेर पानी ल्याउन थालेको छ ।

जमिनमुनि करिब १२३ मिटर खनेर खानेपानी आपूर्ति गर्न थालिएको हो । नगर क्षेत्रमा खानेपानीको अभाव भएकाले विभिन्न माध्यमबाट पानी ल्याउनु पर्ने बाध्यता छ । नगरले खानेपानीकै लागि मोटो रकम खर्चेको छ । अन्य क्षेत्रबाट पानी ल्याउन नसकिने अवस्थामा नगरले यो माध्यमबाट ल्याएको हो । यसका लागि नगरले रु दुई करोड ४७ लाख ८० हजार खर्च गरेको छ ।