८ बैशाख २०८१, शनिबार

न्यायो सिरक पाउँदा सन्थाल परिवारमा खुशी

1359207630download 1

झापा गाउँपालिका–१ मिलनबस्तीमा सुकुम्बासी टोल छ । जहाँ सन्थाल समुदायको बसोवास रहेको छ । उनीहरुसँग पेट भर्नका लागि त भर्खर अन्न घरमा थन्क्याएका छन् तर जाडोमा ओढ्ने सिरक नहुँदा आगो तापेर रात बिताउँछन् ।

यसरी नै वर्षौं बिताएका उनीहरु शुक्रबार भने निक्कै खुशी देखिन्थे । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लायन्स क्लब सुरुङ्गाको सहयोगमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइराला सुकुम्बासी बस्तीमा न्यायो सिरक लिएर पुगेका थिए । उनीहरुले गाउँपालिकाका अध्यक्ष जयनारायण साहलाई साक्षी राखेर क्लवले ल्याएको फाइबरका ८२ थान सिरक सन्थाल परिवारलाई वितरण गरेका छन् ।

“रातभर पराल र दाउराको आगो तापेर रात बिताउँथे, आजदेखि सिरक ओढेर सुत्छु”, झापा गाउँपालिका–१ सुकुम्बासी बस्तीकी ७० वर्षीया सुका हस्दाले सिरिक पाएपछि खुशी हुँदै भन्नुभयो । हस्दाजस्तै कपडा किनेर शरीर ढाक्न नसक्ने अवस्थाका उनीहरुलाई क्लबले दिएको न्यायो ओड्ने सिरकले खुशी ल्यायो ।

उनीहरु कन्काइ नदीको किनारमा वर्षौंदेखि बसोवास गर्दै आएका छन् । उनीहरुको बस्तीदेखि ५०० मिटर उत्तरमा कन्काइ नदी बगेको छ । जिल्लाकै विकट स्थानमध्ये यो वस्ती पनि रहेको गाउँपालिकाका अध्यक्ष साहले बताउनुभयो । जहाँ सन्थाल समुदायको मात्र बसोवास रहेको छ ।

उहाँका अनुसार सुकुम्बासी बस्तीमा बसोवास गर्ने ८२ घर परिवार नै मजदूर र गाईबस्ती पालेर गुजारा चलाउँदै आएका छन् । उनीहरुको प्रायः दिउँदका रातहरु वर्षामा नदीले बगाएर ल्याएको मूढा र परालको आगो तापेर बित्ने गर्छ । प्रजिअ तिम्सिना र प्रहरी प्रमुख कोइरालाले प्रहरीले समाजमा विकृति विसङ्गति रोक्न, शान्ति र अमनचयन कायम राख्दै विपद्मा परेकालाई समुदायसँग मिलेर सहयोग पनि गर्दै आइरहेको बताउनुभयो ।

लायन्स क्लब सुरुङ्गाले विगतदेखि नै विपद्मा परेका र गरीब दुःखीलाई सहयोग गर्दै आएको छ । लायन्स क्लबका डिस्ट्रिक म्यानेजर लीला चिमरियाले यस वर्ष ४०० बढी परिवारलाई सहयोग गर्ने बताउनुभयो । उहाँले सहारा नेपाल र संस्थाकै सहयोगमा उनीहरुलाई न्यायो कपडा सहयोग गर्ने गरेको बताउनुभयो । क्लबका अध्यक्ष मनोज बस्नेतले आजै कनकाई नगरपालिकास्थित कोटीहोमको वृद्धाश्रामका १७ र २१ बटुकलाई समेत न्यायो कपडा वितरण गरेको बताउनुभयो ।