१५ चैत्र २०८०, बिहीबार

प्रस्ताव दर्ताका सम्बन्धमा यसअघि नै स्पष्ट : सभामुख

agni sapkota

सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावका सन्दर्भमा यसअघि नै सचिवालयले स्पष्ट पारिसकेकाले अनावश्यक भ्रम उत्पन्न गर्नुको अर्थ नभएको बताउनुभएको छ ।

यही पुस ५ गते ९० जना सांसदले सङ्घीय संसद् सचिवालयमा दर्ता गर्नुभएको अविश्वासको प्रस्तावका सन्दर्भमा आफूलाई समेत जोडेर टिप्पणी गरिएको भन्दै उहाँले थप स्पष्ट पार्न प्रेस नोट जारी गरिएको उल्लेख गर्नुभएको छ ।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेद्वारा जारी प्रेस नोटमा भनिएको छ, “सभामुखलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखले दर्ताका लागि लिखित निर्देशन दिनुभएको हो । तत्पश्चातका प्रशासनिक प्रक्रियालाई समेत जोड्दै उहाँलाई विवादमा ल्याउनु वाञ्छनीय छैन ।”

तथ्यहरुलाई एकातिर पन्छाएर सभामुखलाई समेत विवादमा तान्ने प्रयासस्वरूप सिर्जना गरिएको भ्रममा नपर्न प्रेस नोटमा आग्रह गरिएको छ । अविश्वासको प्रस्ताव दर्ता समयका सम्बन्धमा संसद् सचिवालयका प्रवक्ताद्वारा यही पुस ८ गते प्रेस विज्ञप्तिमार्फत स्पष्ट गरिसकिएको समेत प्रेस नोटमा स्मरण गरिएको छ ।