११ बैशाख २०८१, मंगलवार

जन उपलब्धि रक्षाका लागि संसद् विघटन: मन्त्री रायमाझी

Top Bahadur Rayamajhi

ऊर्जा तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले जन उपलब्धि रक्षाका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा पोखरामा आयोजित बृहत कार्यकर्ता भेलामा बोल्दै उहाँले जनताको लामो समयदेखिको संघर्षको उपलब्धिलाई रक्षा गर्नका लागि प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएको उल्लेख गर्नुभयो । ओली नेतृत्वको सरकारले देशका विभिन्न समस्या समाधान गर्दै अघि बढेको बताउँदै उहाँले कोरोना रोकथाम र नियन्त्रणमा पनि सक्रिय भूमिका निर्वाह गरेको बताउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र विकासको गति बढेको देख्न नचाहनेले सरकार र पार्टीलाई विभिन्न तबरबाट दुःख दिएको उल्लेख गर्नुभयो । जनप्रतिनिधिलाई पार्टीमा सङ्गठित भएर लाग्न निर्देशन दिँदै उहाँले उपलब्धिको रक्षा र समृद्धिको यात्रालाई निरन्तरता दिन नयाँ जनादेशमा जानुपरेको बताउनुभयो ।

पूर्वमन्त्री जगतबहादुर विश्वकर्माले ओली नेतृत्वको सरकारले गरेका विकास निर्माण लगायतका कामबाट अत्तालिएर पार्टी तथा सरकार भित्र किचलो पारिएको सुनाउनुभयो । पूर्वमन्त्री खगराज अधिकारीले राष्ट्रियताको पहरेदार एवं समृद्धिको अभियन्ता प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागि निर्वाचनमा जानुको विकल्प नभएको भनेर संसद् विघटन गरेको बताउनुभयो ।

विघटित प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले नेकपालाई जनताले विश्वास र भरोसा गरेको बताउँदै सरकारलाई पार्टीभित्रैबाट असहयोग गरेको बताउनुभयो । पार्टी केन्द्रीय सदस्य एवं कास्कीका अध्यक्ष कृष्ण थापालगायतले निर्वाचनका लागि आ–आफ्नो क्षेत्रमा सङ्गठित भएर लाग्न अनुरोध गर्नुभयो । रुपा गाउँपालिकाबाट विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेलाई टिका र खादालगायर स्वागत गरिएको थियो ।