१६ चैत्र २०८०, शुक्रबार

मुख्यमन्त्री पौडेल निरन्तर विकासका पक्षमा

dormani paudel hetauda
फाइल फोटो

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफू विकासका पक्षमा निरन्तर रहने बताउनुभएको छ । मकवानपुरको हेटौँडामा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको रजत जयन्तीका अवसरमा आज आयोजित समाहरोमा उहाँले पद अस्थायी हुने र आफू पदमा हुँदा या नहुँदा विकासका पक्षमा लागिरहने धारणा राख्नुभयो ।

उहाँले प्रदेश सरकारले छोटो अवधिमा दीर्घकालीन प्रभाव पार्ने खालका महत्वपूर्ण काम गरेको उल्लेख गर्दै सरकारको विकासको कामबाट त्रसित भएका व्यक्तिले सरकारका विरुद्ध कार्य गरिरहेको बताउनुभयो । पौडेलले मकवानपुरबाटै निर्वाचित भएका व्यक्तिले यही जिल्लाका मुख्यमन्त्री विरुद्ध काम गरिरहेको घटनालाई जिल्लावासीले मसिनो गरी केलाउनुपर्ने धारणा राख्नुभयो । जिल्लाको विकास नचाहनेलाई पहिचान गर्नुपर्ने आवश्यकता रहेको भन्दै उहाँले कुन नेता ठीक र कुन बेठीक भनेर छुट्याउनुपर्ने बेला भएको बताउनुभयो ।

स्थापनाको २५ औँ वर्ष प्रवेश गरेको सहकारीलाई शुभकामना दिँदै मुख्यमन्त्री पौडेलले थैलीमा राखेर पुँजी नबढ्ने धारणा राख्नुभयो । सहकारीले देशमा उत्पादन तथा रोजगारी सिर्जना गर्नेगरी काम गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँलेले देशमा थुप्रै अवसर भए पनि पुँजी अभावका कारण बाहिरिएका जनशक्तिलाई स्वदेशमा नै भित्र्याउन सहकारीले भूमिका खेल्नसक्नुपर्ने बताउनुभयो । “हाम्रो सहकारीमा यति करोड निक्षेप छ भन्नेभन्दा पनि हामीले यस्ता उद्यम सञ्चालन गरेका छौँ, ती उद्योगमा यति जनशक्तिले रोजगारी पाएका छन्, हामीले यति उत्पादन गरेका छौँ, सहकारीका माध्यमबाट हामी आत्मनिर्भर भएका छौँ यस्ता कुरा सुन्न पाइयोस्”, पौडेलले भन्नुभयो ।