१३ बैशाख २०८१, बिहीबार

तिलमान र युवा पिक आरोहीलाई सम्मान

123 1

पाँचपोखरी तिलमान पास पिक र युवा पिक हिमालको पहिलो आरोहण सफलताका साथ पूरा गरी फर्किएको अध्ययन टोलीलाई गाउँपालिकाले मङ्गलबार सम्मान गरेको छ । मङ्सिर २६ गते शुक्रबार १२ः२६ बजे टोलीले सफलतापूर्वक युवा पिक आरोहण गरेको थियोे ।

सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा छ सदस्यीय आरोहण दल र दुई माउन्टेन गाइडले पाँच हजार ३०० मिटरको पाँचपोखरी तिलमान पास पिक र पाँच हजार ५५६ मिटरको युवा पिकको पहिलोपटक सफलताका साथ यात्रा पूरा गरेको हो । मौसमले पूर्णरूपमा साथ दिएको र समूहका सबै सदस्यले यात्रा पूरा गरेको अध्ययन टोलीका संयोजक गुरुङले जानकारी दिनुभयो । गुरुङको नेतृत्वमा आरोही कान्छीमाया स्याङ्बो तामाङ र दावा शेर्पा साथमा युवानेता सोमर बोम्जन, मिलन तामाङ, पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ का अध्यक्ष ङिमाछिरिङ तामाङसहित आठ जनाको टोलीले यात्रा पूरा गरेको हो ।

यात्रा साहसिक र उपलब्धिमूलक भएको भ्रमण संयोजक माया गुरुङले बताउनुभयो । कतिपय ठाउँमा बाटो भुलिएर समस्या भए पनि बाटो बनाउन सकेमा तिलमान पास सबैले आरोहण गर्न सक्ने बताउनुभयो । वडा नं ३ का अध्यक्ष ङिमाछिरिङ तामाङले काठमाडौँबाट नजिकै भएर पनि पर्यटन प्रवद्र्धनका हिसाबले पछि परेको भन्दै तिलमान पास पाँचपोखरी पिक र युवा पिक हिमाल आरोहणका लागि सहज बनाउन गाउँपालिकाले छिट्टै काम अगाडि बढाउने बताउनुभयो ।

पर्यटन प्रवद्र्धन तथा स्थानीय तहको विकासको पहिचानलाई आधार गन्तव्य पहिल्याउँदै पाँचपोखरी थाङ्पाल गाउँपालिकाले तिलमान पास पाँचपोखरी पिक र युवा पिक हिमाल आरोहणका निम्ति टोलीलाई मङ्सिर १९ गते बिदाइ गरेको थियो । यो अध्ययन भ्रमणले पाँचपोखरीलाई धार्मिक तथा सांस्कृतिक रूपमा चिनाउने र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा अगाडि बढ्ने गाउँपालिकाका अध्यक्ष टासी लामाको भनाइ छ ।

काठमाडौँबाट सबैभन्दा नजिकको दूरीमा रहेको तिलमान पास गन्तव्य पाँचपोखरी थाङ्पाल गाउँपालिकासँगै जुगल गाउँपालिका र रसुवाको गोसाइँकुण्ड गाउँपालिकासँग जोडिएको छ । पाँचपोखरी तिलमान पास पिक र युवा पिक हिमालको सफलतापूर्वक आरोहणले यसलाई साहसिक पदमार्गका लागि महत्वपूर्ण मानिएको छ ।