१४ बैशाख २०८१, शुक्रबार

बहुविवाहको अभियोगमा वडाध्यक्ष माझी जेल

बहुविवाह

बहुविवाहको अभियोगमा मन्थली नगरपालिका ६ का वडाध्यक्ष गोपालबहादुर माझी जेल चलान भएका छन् ।

विक्रम संवत २०७४ सालमा पालिका चुनावमा उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष माझीसँगै उनकी कान्छी श्रीमती पनि दुई वर्षका लागि जेल चलाए भएकी छिन् ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद सापकोटाको एकल इजलासले बहुविवाहको मुद्दा खेपिरहेका दुई जनालाई दुई वर्षको कैद फैसला सुनाएको हो । अदालतको फैसलापछि माझीको वडाध्यक्ष पद गुमेको छ ।

माझीले चार वर्षअघि जेठी श्रीमतीको रुपमा कृष्णमाया माझीसँग मागी विवाह गरेका थिए । विवाह भएको केही समयपछि जेठी श्रीमतीलाई वास्ता नगरि एक्लै बस्दै आएका माझीले त्यही वडाकै एक श्रेष्ठ थरकी विवाहित महिलासँग पुनः विवाह गरेका थिए ।

उनीहरु दुवै जना भक्तपुरमा कोठा भाडामा लिएर बस्दै आएको खबर जेठी श्रीमती कृष्णमायाले थाहा पाएपछि उनले प्रहरीमा बहुविवाहको उजुरी दिएकी हुन् ।

अध्यक्ष माझीले ल्याएका कान्छी श्रीमतीको श्रीमान वैदेशिक रोजगारीमा गएको मौका छोपेर उनीहरु दुवै जना भक्तपुरमा कोठा भाडा लिएर बस्दै आएका थिए । कान्छी श्रीमतीको पहिलो श्रीमानतर्फ एक छोरा रहेका छन् ।

वैदेशिक रोजगारीबाट घर फर्किएका श्रीमानले श्रीमती र छोराको खोजी गर्दा नभेटेपछि उनले पनि प्रहरीमा निवेदन दिएका थिए ।