२० बैशाख २०८१, बिहीबार

चिनियाँ उपमन्त्री आज काठमाडौं आउँदै

chiniya upamantri

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादमा चीनले चासो राखेको छ । नेकपाको विभाजनपछिको परिस्थिति आँकलन गर्न चिनियाँ कम्युनिस्ट पार्टीको चार सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौं आउँदै छ ।

अन्तर्राष्ट्रिय समन्वय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वको प्रतिनिधिमण्डल चार दिने भ्रमणका लागि आज नेपाल आउन लागेको हो । उपमन्त्री गुओ राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा संसद् विघटन गरेपछि नेपाल आउने पहिलो विदेशी अधिकारी हुनेछन् ।

उनको टोलीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका दुवै खेमाको नेतृत्व र काँग्रेसका शीर्ष नेतासँग भेट्ने कार्यक्रम छ । यद्यपि, भेटवार्ताको कार्यतालिका भने सार्वजनिक भएको छैन ।

नेपालमा रहँदा उपमन्त्री कुओ नेतृत्वले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाको एक समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायत नेतासँग भेटवार्ता गर्ने तय भएको छ। 

नेकपाका अध्यक्षद्वय प्रचण्ड–माधव नेपाल समूहको विदेश विभाग उपप्रमुख विष्णु रिजालले चिनियाँ दूतावासले नेता गुओको भ्रमणबारे जानकारी गराएको बताए ।

नेकपा विभाजनपछि चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट नेपाल आउन लागेको कुओ नेतृत्वको यो उच्चस्तरीय भ्रमण टोली हो। नेकपा विभाजन तर्फ उन्मुख भईरहँदा बेला बेलामा चिनियाँ राजदूत होउ यान्छीले नेकपा नेताहरूसँग भेटघाट गर्दै आएकी थिईन् । 

यसअघि, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि संसद विघटनपछि राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छिन् । पुस ५ मा संसद विघटन भएपछि उनले नेकपा नेता माधवकुमार नेपाल, कृष्णबहादुर महरा, अध्यक्ष प्रचण्ड र नेता वर्षमान पुनलाई भेटेर छलफल गरिसकेकी छिन् ।

    सम्बन्धित समाचार...