२५ बैशाख २०८२, बिहीबार

प्रदेश १ का तीन जना मन्त्रीद्वारा राजीनामा, मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै

Sherdhan rai chief ministar province 1
फाइल फोटो

प्रदेश नम्बर १ का तीन जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रमा देखिएको विवादको प्रभाव बिस्तारै प्रदेश सरकारतिर पनि देखिन थालेको छ ।

नेकपा विभाजित भएसँगै  पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर तीन मन्त्रीले आइतबार बिहान राजीनामा दिएका हुन् । 

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित सोही मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका छन् । वर्तमान राष्ट्रिय राजनीतिमा घटेका घटनाक्रमहरुका कारणले गर्दा वर्तमान प्रदेश सरकारको मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको व्यहोरा राजीनामा पत्रमा उल्लेख छ ।

यसअघि, शनिबार मुख्यमन्त्री शेरधन राईले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मन्त्री पदबाट हटाएका थिए ।

यस्तै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दाहाल नेपाल पक्षका सांसद्हरुले आजै अविश्वासको प्रस्ताव गर्दा गर्ने तयारी गरेका छन् । अविश्वास प्रस्ताव दर्ता गराउन दाहाल–नेपाल पक्षधर प्रदेशसभा सदस्यहरु विराटनगरमा भेला हुन थालेका छन् । 

हिजो (शनिबार) मुख्यमन्त्री राईले दाहाल–नेपाल पक्षधर आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका थिए ।

आङ्बोको नेतृत्वमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको हो । पदबाट हटाइएलगत्तै आङ्बोले अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले बाटो खोलिदिएको बताएका छन् । उनले अब आफ्नो अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको जानकारी दिए ।

पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्ड–नेपाल समूहमा छन् । मुख्यमन्त्री राई प्रधानमन्त्री ओली निकट मानिन्छन् ।

मुख्यमन्त्री राई नेतृत्वको सरकार प्रदेशसभामा अल्पमतमा परेको छ । ९३ सदस्यीय प्रदेशसभामा सरकार सञ्चालन वा नयाँ गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ ।

राईको पक्षमा २२ जनामात्रै रहेको दाहाल नेपाल समुहको दाबी छ । नेकपाका ६७ सांसद्मध्ये दाहाल–नेपाल पक्षका ४२ र ओली पक्षका २२ जना देखिएका छन् । 

प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १÷१ जना छन् । नेकपाका ६७ सदस्यमध्ये पूर्व एमालेका ५१ र पूर्वमाओवादीका १६ जना छन् ।

p1 rajinama ugP1CXQmWG