१४ बैशाख २०८१, शुक्रबार

गुल्मीमा ६७ हजारभन्दा बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन

national identity Card

राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत गुल्मीमा हालसम्म ६७ हजारभन्दा बढीको विवरण सङ्कलन भएको छ ।

गत कात्तिक २३ गते जिल्लाको गुल्मीदरबार गाउँपालिकाबाट शुरु भएको राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत जिल्लामा हालसम्म ६७ हजार २५१ जनाको विवरण सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

अहिलेसम्म जिल्लामा गुल्मीदरबार, धुर्कोट, मदाने र छत्रकोट गरी चार पालिकामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलन गर्ने कार्य सम्पन्न भइसकेको छ । ती पालिकामा कूल ४३ हजार ११० जनाको विवरण सङ्कलन भएको दर्ता गर्ने प्राविधिक सुनिता कडेंलले जानकारी दिनुभयो । यसैगरी रुरुक्षेत्र, मालिका र मुसिकोट नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ ।

गुल्मीदरबार गाउँपालिकामा ११ हजार ९०५, धुर्कोट गाउँपालिकामा १० हजार ५८०, छत्रकोट गाउँपालिकामा १० हजार ८४५ तथा मदाने गाउँपालिकामा नौ हजार ७८०, मुसिकोटमा सात हजार ४४२, रुरुक्षेत्रमा आठ हजार २३२ तथा मालिकामा आठ हजार ४६७ जनाको राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलन भएको बताइएको छ ।

जिल्लाका अझै ६ वटा स्थानीय तहमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलन गर्ने काम बाँकी छ । बाँकी रहेको पालिकामा रेसुङ्गा नगरपालिका तथा इस्मा, कालिगण्डकी, चन्द्रकोट र सत्यवती गाउँपालिका रहेका छन् । राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका लागि जिल्ला प्रशासन कार्यालयको मातहतमा ६१ कर्मचारी कार्यरत छन् । हराएको तथा नयाँ नागरिकता प्रमाण पत्र बनाएपछि प्रशासन कार्यालयमै विवरण सङ्कलन गर्ने सुविधा समेत रहेको छ । अब करिब एक महिनामा सबै पालिकामा विवरण सङ्कलनको सकिने प्राविधिक कडेंलको भनाई छ ।

राष्ट्रिय परिचयपत्रले व्यक्तिगत घटनाहरु जन्म, मृत्यु, बसाइसराइ, विवाह, सम्बन्धविच्छेद आदिको दर्ता तथा अभिलेख व्यवस्थापनलगायत पञ्जीकरणसम्बन्धी कार्य गर्न थप सहज हुने बताइएको छ । परिचय पत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति, बुवा र आमाको नागरिकता र शैक्षिक योग्याताका प्रमाणपत्र पनि सक्कलै लिएर आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

दश अङ्कको नम्बर रहेको परिचय पत्रमा नागरिकको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका सबै औठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ । यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचय पत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचय पत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउँनेछन् ।