८ बैशाख २०८१, शनिबार

देउवालाई बास्कोटाको पोखराबाटै जवाफ, नाकाबन्दीमा म्याउँ गर्न नसक्ने अहिले ढाडे बन्ने ?

Baskota 12 1 1056733770

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले शेरबहादुर देउवाले कालापानीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको आरोपको खण्डन गरेका छन् ।

शनिबार देउवाले पोखरामा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा ‘कालापानी र लिपुलेक ओलीकै सहमतिमा राखिएको भन्ने आरोप लगाएका थिए । देउवाले आफूले महाकाली सन्धि गर्दा कालापानी महाकाली पूर्वमा रहेको र अहिले भारतले ओलीकै सहमतिमा नयाँ नक्सा सार्वजनिक गरेको’ आरोप लगाएका थिए ।

त्यसको खण्डन सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गरेका छन् । उनले खण्डन मात्र गरेनन्, उल्टै पोखराबाटै जवाफ फर्काएका छन्, देउवालाई आरोप पनि लगाए । “श्रीमान् शेरबहादुर देउवाजीलाई स्पष्ट भन्न चाहान्छु, हाम्रो बोली लर्बरिन्न, देशभक्तिको विषयमा । नाकाबन्दीमा एक शब्द बोल्न नसकेर म्याउँ गर्न नसक्ने, अहिले ठुल्ठुलो ढाडे बनेर चुनाव आयो भनेर कुर्लेर हुन्छ ?”

राष्ट्रहित विपरीत कांग्रेस नेतृत्वको तत्कालीन सरकारले टनकपुर सन्धि गरेकोदेखि अघिल्लोपटक देउवा प्रधानमन्त्री बन्दा भारतमा गएर संविधान संशोधन गर्ने बचन दिएको प्रसंगसमेत बास्कोटाले उठाए ।

नेपाल पत्रकार महासंघ कास्कीले गरेको कार्यक्रममा उनले आइतबार बिहान यस्तो बताएका हुन् ।

चुनावी हार वा जितलाई देशभक्तिको प्रश्नमा नजोड्न समेत उनले सुझाव दिए ।

“प्रमुख प्रतिपक्षी दल जस्तो जिम्मेवार दलको नेताले लगाउनुभयो भन्ने मलाई पटक्कै विश्वास छैन । यदि लगाउनुभएको हो भने उहाँको बारेमा केही गम्भीर प्रश्न उठाउनुपर्ने भयो, यसअघि नेपाल र भारत सीमा सम्बन्धका विषयमा वा कैयौँ विवादास्पद सन्धि सम्झौताका बेलामा उहाँले आत्मसमर्पण गरेर त्यो कुरा गर्नुभयो वा अरुको अलिकति एकलौटी पेलाइमा पर्नुभयो भन्ने प्रश्नको जवाफ उहाँले दिनुपर्ने हुन्छ,” उनको प्रतिप्रश्न छ, “टनकपुर सन्धि हामीले बिर्सेका छैनौँ, जसलाई सर्वोच्च अदालतले सच्याउनुपर्यो, त्यो सन्धिप्रति खुद शेरबहादुर देउवाको दृष्टिकोण के रु जसलाई सर्वोच्च अदालतले पनि गलत हो भनेर भनेको छ र त्यो सन्धि कसको पालामा भएको थियो ।”

कालापानी र लिपुलेकको विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गरिसकेको उनले बताए । “भारतले अहिले जारी गरेको राजनीतिक नक्साप्रति इतिहासमै पहिलोपल्ट नेपालको सिटिङ प्राइममिनिष्टरले म यो मान्दिनँ नेपालको लागि यो स्वीकार्य छैन भनेर बोल्यो,” उनले भने ।
देउवाको यस्तो आरोपमा उनले खेद प्रकट गरे ।

प्रवक्ताले भने, “नेपाली जनताको मत र फैसलामाथि अरु कसैले प्रश्न उठाउँदा त्यो नेपाली जनताको मत हो, फैसला हो भनेर बोल्न नसक्ने श्री शेरबहादुर देउवाजीले केपी ओलीको राष्ट्रवादी अडान, क्षमता र संघर्षको कुरामाथि प्रश्न उठाउनु आफैँमा लज्जाजनक विषय हो, म खेद प्रकट गर्न चाहान्छु ।”
पोखरामा आएर यस्तो आरोप लगाउनुको अर्थ आफूले बुझेको तर सर्वदलीय र सर्वपक्षीय बैठकमा भने देउवा आफैले राष्ट्रियताको विषयमा एकमत हुने निर्णय गरेको उनले जानकारी दिए ।

“म बुझ्छु उहाँले किन पोखरामा आएर आरोप लगाउनुभयो । किनभने पर्सि १४ गते यहाँ पर्सि के छ, चुनाव छ । म चाहिँ यति सस्तो कुरा उहाँले बोल्नुहुन्न र म उहाँ खुद आफैँ उपस्थित हुनुभएको बैठकमा सम्माननीय प्रमले बोलाएको सर्वपक्षीय र सर्वदलीय बैठकमा उहाँको कुनै विमती थिएन,” उनले भने, “प्रधानमन्त्रीज्यूले जुन दृष्टिकोण राख्नुभयो, हाम्रो जमिन फिर्ता गर्ने हो । हाम्रो अधिकार र सार्वभौमिकताको सुरक्षा गर्ने हो भन्ने कुरामा उहाँको विमति थियो र त्यतिखेर रु”

“त्यसैले यसलाई चुनावी मसला बनाउनु साह्रै झुर कुरा हो, गैरजिम्मेवारपूर्ण कुरा हो, यस्ता विषयलाई चुनावको मसला बनाउनु हुँदैन । त्यहाँ उठेको कुरा सबैले व्यक्त गरेको कुरा र राष्ट्रले एउटा ऐतिहासिक सहमति प्राप्त गरेको कुरा थियो । बालुवाटार बैठक जहाँ कुनै दलको असहमति थिएन । प्रत्येकले आफ्नो देशभक्तिको भावना र सार्वभौमिकता रक्षाको कुरलाई एकस्वर र एकमतले स्विकार गरेको थियो । कूटनीतिक र राजनीतिक तरिकाले समाधान गर्नुपर्छ भन्ने कुरा भएको थियो,” उनले भने ।

यस्ता आरोप लगाउने हो भने, कोशी, गण्डकीमा सम्झौता गर्दाखेरि ती सबैको एकमुष्ट जवाफ शेरबहादुर देउवाले दिनुपर्ने उनको तर्क थियो ।