fbpx
१३ फाल्गुन २०७७, बिहीबार

नगरको शीतभण्डार प्रयोगविहीन

नौ वर्षअघि इलाम नगरपालिकाले रु छ करोड खर्चेर शीतभण्डार बनायो । भारतीय दूतावासको आर्थिक सहयोगमा ठूलै तामझामका साथ जिल्लामा उत्पादित फलफूल, तरकारी भण्डारी गर्ने उद्देश्यले नगरले भवन बनाएको हो । भण्डारण बेगर लामो समय फलफूल र तरकारी नटिक्ने तथा जिल्ला बाहिरबाट भित्र्याउनु पर्ने समस्या हल गर्न शीतभण्डारण बनाइएको थियो । शीतभण्डार बन्यो तर अहिलेसम्म प्रयोगमा आएको छैन ।

भण्डारण गरेर नगरले फाइदा लिनुको साटो मासिक बिजुलीको महसुल तिर्नुपर्ने बाध्यता छ । इलाम नगरपालिका–९ मा रहेको शीतभण्डारको क्षमता दुई हजार टनको छ । शीतभण्डार प्रयोगमा नआउँदा भवन लड्ने अवस्थामा पुगेको छ । भवन प्रयोगमा ल्याउन नगरले केही प्रयास पनि गरेकै हो । ठेक्काका लागि सूचना निकालियो तर ठेक्का लागेन । त्यही कारण अहिले भवन प्रयोगविहीन छ । नगरका बासिन्दाले बाहिरबाट तरकारी आयात गर्छन् ।

“हामीले ठेक्कामा लगाउन धेरै पटक सूचना निकाल्यौँ तर कोही आएन”, नगरका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत रामकुमार साहले भन्नुभयो, “किसानले राख्ने आँट गरेनन्, बिग्रिन्छ कि भनेर डराए ।” शीतभण्डार बनाए पनि प्रयोग नहुँदा लागत रकम नाश भएको छ भने भवन बिग्रिने अवस्थामा पुगेको छ । नगरले दूरदर्शिता अपनाउन नसक्दा शीतभण्डार प्रयोगमा आउन नसकेको हो ।

एकपल्टमा एकैखाले उत्पादन मात्र भण्डारण गर्न मिल्ने ‘सिङ्गल च्याम्बर’को भएकाले पनि शीतभण्डार सञ्चालनमा ल्याउन कठिनाइ भएको हो । फरकफरक जातका कृषिजन्य उत्पादन भण्डारण गर्न फरकफरक नै तापक्रम आवश्यक पर्दछ । फरकफरक तापक्रममा फरक खाले तरकारी र फलफूललगायतका कृषिजन्य उत्पादन राख्न सक्ने गरी ‘मल्टि च्याम्बर’ बनाउनु पर्ने भए पनि हचुवाका भरमा शीतभण्डारको निर्माण गरिएकाले समस्या भएको कतिपयको आरोप छ ।

आफ्नै लगानीमा किवीको शीतभण्डारण

यता सदरमुकाममा करोडौँको शीतभण्डार त्यतिकै लडिरहेका बेला सन्दकपुर गाउँपालिकाका एक व्यक्तिले आफ्नै लगानीमा शीतभण्डार निर्माण गर्नुभएको छ । साथीभाइको सहयोग र आफ्नै सीपमा किवी किसान तारामणि खतिवडाले शीतभण्डार बनाउनुभएको हो । खतिवडाले किवीकै भण्डारणका लागि भवन बनाउनुभएको हो । आफ्नै बारीमा बनेको शीतभण्डारका लागि करिब एक महिना समय बनाउन लागेको खतिवडाको भनाइ छ । रु तीन लाखमा निर्माण भएको शीतभण्डारमा १० हजार किलो किवी भण्डारण गर्न सकिन्छ । “आफूले सिकेकै सीपबाट मैले ‘कोल्डस्टोर’ बनाएको हूँ”, खतिवडाले भन्नुभयो, “कोल्डस्टोर बनाऊँ भनेर धेरैतरि चहारेँ तर कसैले नसुनेपछि पहिले विदेशमा सिकेको सीपले आफैँ बनाएको हूँ ।”

गत वर्ष यो शीतभण्डारमा तीन हजार किलो भण्डार गरेको र यस वर्ष यसको क्षमता बढाएर १० हजार किलो किवी भण्डारण गर्ने बनाएको खतिवडाले बनाउनुभयो । स्थानीय स्रोतसाधन नै प्रयोग गरेर बनाइएको भण्डारमा छ महिनासम्म किवी भण्डार गर्न सकिने खतिवडाको जिकर छ । “तापक्रम मिलाएर राख्न सक्दा लामो समय रहन्छ”, खतिवडाले भन्नुभयो, “यसमा म ९९ प्रतिशत सफल भएँ, यो साल पनि सफल नै हुन्छु भन्ने छ ।”