२३ बैशाख २०८१, आईतवार

पुल्चोक–गोन्द्राङ सडक : घरटहरा हटाउन १५ दिने म्याद

IMG 0173

नारायणगढको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको सडक अब विस्तार हुने भएको छ । हाल दुई लेन रहेको यो सडक विस्तारपछि छ लेनको सडक बन्नेछ । सडक डिभिजन कार्यालय भरतपुरले आज १५ दिने सूचना जारी गर्दै सडक मिचेर बनेका घरटहरा हटाउन भनेको छ । यसअघि भरतपुर महानरपालिकाले सडक विस्तार हुन लागेको भन्दै सडकको क्षेत्राधिकारभित्र परेका संरचना हटाउन अनुरोध गरेको थियो ।

पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ सडक खण्डको केन्द्र रेखाबाट २५÷२५ मिटर दायाँबायाँ गरी कूल ५० मिटरभित्र रहेका घरटहरा, पर्खाल वा अन्य कुनै पनि किसिमका भौतिक संरचना सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हटाउन भनिएको छ । सो समयावधिमा सडक सीमाभित्र अतिक्रमण गरी बनाइएका संरचना नहटाइएमा सार्वजनिक सडक ऐन, २०१३ अनुसार कार्यालयबाट डोजर खटाई भत्काउने समेत जनाइएको छ । अतिक्रमित संरचना हटाउन लाग्ने खर्चसमेत सम्बन्धित व्यक्तिबाट नै सरकारी बिगोसरह असुलउपर गरिने सूचनामा उल्लेख छ ।

यस्तै कार्यालयले भरतपुरको केन्द्रीय बसपार्कदेखि आँपटारीसम्मको बाइपास सडकको केन्द्ररेखादेखि १५÷१५ मिटर दायाँबायाँ गरी कूल ३० मिटरसम्म बनाइएका संरचनाहरु पनि १५ दिनभित्र हटाउन भनेको छ । यो सूचनासँगै अब सडक अतिक्रमण गरी बनाइएका घरटहरा तत्काल हटाउनुपर्नेछ । सडक डिभिजन भरतपुर कार्यालयले पुल्चोक–गोन्द्राङ सडकलाई छ लेन बनाउन यसअघि नै निर्माण कम्पनीसँग पक्षसँग सम्झौता गरिसकेको छ ।

कार्यालयका अनुसार छ लेन सडक निर्माणका लागि कम्पनी छनोट भइसकेको छ । सडक निर्माणको जिम्मा इन्डो सगुन जेभी बुटवलले पाएको छ । सबैभन्दा कम आर्थिक प्रस्तावका आधारमा सो कम्पनीले सडक निर्माणको जिम्मा पाएको कार्यालयका सूचना अधिकारी शिव खनालले बताउनुभयो ।

पुल्चोक गोन्द्राङ सडक छ लेन निर्माणको लागि रु एक अर्ब १२ करोड (भ्याटसहित)मा ठेक्का सम्झौता भएको खनालले जानकारी दिनुभयो । दुई वर्ष चार महिनाभित्रमा छ लेनको सडक निर्माणको काम सक्ने गरी ठेक्का सम्झौता भएको छ । “छ लेन सडक नयाँ मोडेलमा बन्नेछ, सम्झौताअनुसार ठेकेदार पक्षले २०७९ फागुन १० गते निर्माणको काम सक्नुपर्छ”, खनालले भन्नुभयो ।

पुल्चोक–गोन्द्राङ सडक विस्तारपछि नारायणगढ र भरतपुर बजार क्षेत्र व्यवस्थित हुने भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बताउनुभयो । यो सडक बनेपछि भरतपुरको स्वरूप नै परिवर्तन हुने उहाँको भनाइ छ । उहाँले स्मार्ट सिटीको अवधारणाअनुरुप सडक विस्तारको काम भएको बताउनुभयो ।

हाल पुल्चोक–गोन्द्राङ सडक साँघुरो छ । छ लेन सडक बनेपछि आकर्षक देखिन्छ । नारायणगढ–बुटवल सडकखण्डकै आधारमा पुल्चोक–गोन्द्राङ सडक बन्नेछ । सडकको चार लेनको बीच खण्डमा हरियाली हुनेछ, जहाँ हरिया बोटबिरुवादेखि फलफूलका बिरुवाहरु लगाइनेछ । सडकका दुवैतर्फ फुटपाथ, ढल, सर्भिस लेन रहनेछन् । सडकका दुवैतर्फ स्मार्ट लाइट जडान गरिनेछ । स्मार्ट लाइटको जडानको भरतपुर महानगरपालिकाले अघि बढाइसकेको छ । छ लेनको सडक खण्डमा बिजुली अन्डरग्राउन्डबाट पास गरिनेछ ।