१९ बैशाख २०८१, बुधबार

प्रदेश सरकारको प्राथमिकतामा दासढुङ्गा–गाँजीपुर

KA Bharatpur 8771 scaled

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले चितवनको दासढुङ्गा र गाजीपुरलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर विकास गर्न लागेको बताउनुभएको छ ।

जननेता मदनकुमार भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको रहस्यमय जीप दुर्घटना भएको स्थल दासढुङ्गा र मदन भण्डारीको शव भेटिएको स्थल गाँजीपुरको आज स्थलगत अवलोकनपश्चात् उहाँले दुवै स्थानलाई राजनीतिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न लागिएको बताउनुभयो ।

उहाँले दुवै स्थानमा प्रदेश सरकारले कार्यतालिका बनाएर काम गर्ने जानकारी दिनुभयो । “सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा दुवै क्षेत्रको विकास हुन्छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारका तर्फबाट वहुवर्षीय ठेक्कामार्फत काम गर्ने तयारी गरिएको छ ।” मन्त्री फुयाँलले यही महिनाभित्र टेण्डर लगाएर काम शुरु गरिने बताउनुभयो ।

छिटो काम सम्पन्न गर्नका लागि स्थानीयस्तरबाट पनि जागरुक भएर काम गर्नुपर्ने उहाँको भनाइ छ । दुवै ठाउँको वातावरण हरियाली बनाउँदै आकर्षक फूलबारी बनाउन स्थानीय जनप्रतिनिधि र सरोकारवालालाई उहाँले आग्रह गर्नुभयो । मौलिकता देखिने खालको विकास गर्नसमेत उहाँको सुझाव छ ।

“मदन आश्रितका नाममा धेरै भाषण ग¥यौँ”, अब केही काम गरेर उहाँहरुको सपना साकार गर्नुपर्छ”, उहाँले भन्नुभयो । मदन भण्डारीले मुलुक बदल्ने सपना क्रमशः पूरा हुँदै जान लागेको मन्त्री फुयाँलले बताउनुभयो ।

विकास निर्माणमा सबैले सहकार्य गर्नुपर्नेमा उहाँको जोड छ । दासढुङ्गामा डिपिआरसहित सडक निर्माण र गाजीपुरमा पार्क निर्माणका लागि बजेट विनियोजन गर्ने मन्त्रालयका सचिव सञ्जीव बरालले जानकारी दिनुभयो ।

विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय सवारी दुर्घटना जननेता भण्डारी र आश्रितको ज्यान गएको थियो । सो अवसरमा प्रदेशसभा सदस्य कृष्ण खनाल, विजय सुवेदी, घनश्याम दाहाल, कृष्ण भुर्तेल, रामलाल महतोलगायतको सहभागिता थियो ।