१४ बैशाख २०८१, शुक्रबार

विकास र समृद्धिको सपना साकार हुन्छ : मुख्यमन्त्री पौडेल

Dormani poudel

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको विकास र समृद्धिको सपना साकार पार्ने बताउनुभएको छ ।

प्रदेश नीति तथा योजना आयोग, कृषि तथा वन विश्वविद्यालय र युएनडिपीको संयुक्त आयोजनामा विश्वव्यापी मानव विकास प्रतिवेदन–२०२० को आज यहाँ भर्चुअल माध्यमबाट सार्वजनिक गर्दै उहाँले प्रदेशवासीको जीवन पद्धतिमा सुधार ल्याई प्रदेशलाई विकास र समृद्धिको बाटोमा अघि बढाउने बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले प्रत्येक नेपालीको स्वास्थ्य र आर्थिक स्थितिमा सुधार तथा साक्षरतामा थप गुणस्तर बढाउँदै लैजानुपर्ने बताउँदै विश्व मानव विकास प्रतिवेदनमा नेपाललाई अझै सबल बनाउनका लागि शिक्षा, स्वास्थ्य र आम्दानी स्रोतमा समयसापेक्ष सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

वाग्मती प्रदेश नीति तथा योजना आयोगका कार्यबाहक उपाध्यक्ष श्यामकुमार बस्नेतले प्रदेशको नीति तथा योजना बनाउँदा सो प्रतिवेदनलाई थप आधार बनाउने बताउनुभयो ।

उहाँले यहाँका प्राकृतिक स्रोत सम्पदालाई भरपुर प्रयोग हुने गरी नीति तथा योजना बनाउने र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिने बताउनुभयो ।