१२ बैशाख २०८१, बुधबार

२१ वर्षदेखि मृत्युदण्डको पालोमा राखिएका यी व्यक्ति

21071078 7691053 image a 52 1573853649499

अमेरिकाको टेक्सस राज्यस्थित एउटा अदालतले हत्याको अभियोगमा दोषी ठहर भएर २१ वर्षअघि सजाय सुनाइएका एक व्यक्तिको मृत्युदण्ड अन्तिम समयमा रोकिदिएको छ।

सन् १९९६ मा एउटी युवतीको हत्या गरेको भन्दै रोड्नी रीडलाई मृत्युदण्डको फैसला सुनाइएको थियो। उनलाई त्यति बेलादेखि नै मृत्युदण्डको पालोमा राखिएको थियो।

उनलाई आगामी नोभेम्बर २० मा विषालु सुई दिएर मृत्युदण्ड दिने योजना थियो। उनलाई मृत्युदण्ड दिने कुराले अमेरिकामा ठूलो चासो व्यक्त भएको थियो।

उनन्तीस लाखभन्दा बढी मानिसले उनलाई क्षमादान दिन याचना गरेका थिए। विभिन्न चर्चित व्यक्तिहरूले पनि उनको जीवनरक्षाका लागि बोलेका थिए।

रीडले आफू निर्दोष भएको बताउँदै आएका छन्। उनका वकिलका अनुसार नयाँ प्रमाणहरूले उनले अपराध नगरेको पुष्टि गर्छन्।

रीडलाई सुनाइएको मृत्युदण्ड १२० दिन थाँती राखिने निर्णय टेक्सस बोर्ड अफ पार्डन्ज एन्ड परोल्जले गरेको छ।

तर मृत्युदण्डको सजायलाई आजीवन कारावासमा परिवर्तन गर्न उनले गरेको निवेदनलाई उक्त बोर्डले अस्वीकार गरिदिएको छ।

मृत्युदण्ड तत्काल कार्यान्वयन नहुने जानकारी पाउँदा रीड प्रख्यात टेलिभिजनकर्मी किम कार्ड्याशिअन वेस्टसँग भेट गर्दैथिए।

आफ्नो इन्स्टाग्राम खातामा किम कार्ड्याशिअन वेस्टले त्यो सूचना पाउँदा देखिएको सन्तोष र आशा शब्दमा वर्णन गर्न नसकिने उल्लेख गरेकी छन्।

रीडको मुद्दामा संलग्न इनसन्ट प्रोजेक्ट नामक संस्थाले अदालतको निर्णयको स्वागत गरेको छ।

घटना के हो ?

एप्रिल २३ को बिहानै १९ वर्षीया स्टेसी स्टाइट्सले काममा पुगिसक्नुपर्ने थियो। तर अस्टिननजिकै रहेको उक्त किराना पसलमा उनी पुगिनन्।

केही घण्टापछि उनले चलाएको ट्रक बेवारिसे अवस्थामा भेटियो।

दिउँसो उनको शव फेला पर्‍यो। उनकै पेटी प्रयोग गरी घाँटी थिचेर उनको हत्या भएको थियो।

अनुसन्धानकर्ताहरूले उनको योनिमा अतिन्यून मात्रामा वीर्य भेटिएको बताएका थिए। त्यो वीर्य रीडको रहेको खुलेको थियो।

यौन दुर्व्यवहारसम्बन्धी एउटा फरक मुद्दामा परिसकेका कारण प्रहरीसँग उनको डीएनए थियो। त्यो पुरानो घटनामा उनी निर्दोष साबित भएका थिए।

रीडले स्टाइट्ससँग आफ्नो गोप्य रूपमा सम्बन्धमा रहेको दाबी गरेका थिए।

स्टाइट्सले प्रयोग गरेको ट्रकमा रीडको औँठाछाप फेला परेको थिएन। शुक्राणुका कारण उनीविरुद्ध मुद्दा चलाइएको थियो। हत्याको एक दिनअघि आफूहरूबीच सहमतिमै यौन सम्पर्क भएको उनले बताएका थिए।

तर सुनुवाइका क्रममा विज्ञहरूले उनीप्रतिकूल बयान दिए। स्टाइट्सको शरीरमा त्यति लामो समयसम्म शुक्राणु रहन नसक्ने तर्क उनीहरूको थियो।

उनीहरूले स्टाइट्सको बलात्कार गरिएको र त्यसपछि हत्या भएको हुन सक्ने आफूलाई लागेको बताएका थिए।

त्यसैका आधारमा अश्वेत वर्णका रीडलाई दोषी ठहर गरिएको थियो। मुद्दा हेर्ने जुरीका सबै सदस्य श्वेत वर्णका थिए।

नयाँ प्रमाण के हुन्रु

रीडका वकिलले अहिले नयाँ प्रमाण पेस गरेका छन्।

पहिला विज्ञका रूपमा साक्षी बसेका डा. रोबर्टो बायार्डोले एउटा विज्ञप्तिमा मृत्यु भएको केही दिनसम्म योनिमा शुक्राणु जीवित रहन सक्ने आधार देखिएको बताएका छन्।

त्यसैले स्टाइट्स र रीडबीच सहमतिमा यौन सम्पर्क भएको भन्नुबाहेक अन्य कुराको प्रमाण नपुग्ने उनले बताएका छन्।

स्टाइट्सको एक पूर्वप्रहरी जिमी फेनलसँग विवाह हुने कुरा छिनिएको थियो।

तर अहिले केही साक्षीहरूले ती दुईको सम्बन्धबारे आफूले देखेको कुरा भन्न थालेका छन्।

109718239 109540028 f4e997db 881b 4461 b4e1 2ef979244374 large16x9 jimmyfennellएउटी महिलाका अनुसार फेनलले यदि आफ्नी प्रेमिकाले धोका दिएको थाहा पाए घाँटी थिचेर मारिदिने बताउने गरेका थिए।

एउटा बीमा कम्पनीका प्रतिनिधिले पनि आफूसँग फेनलले त्यस्तै कुरा गरेको बताएका छन्।

स्टाइट्सको अन्तिम संस्कारमा सहभागी हुन गएका फेनलले उनको शव हेर्दै आफ्नो कर्मको फल पाएको आशय व्यक्त गरेको आफूले सुनेको ती साक्षीले बताएका छन्।

पछि फेनल अर्की महिलाको अपहरण र यौन शोषण गरेको अभियोगमा जेल परे। उनी सन् २०१८ मा रिहा भए।

उनीसँग जेलमा बसेका एक व्यक्तिलाई अहिले नयाँ साक्षीका रूपमा प्रस्तुत गरिँदैछ।

जेलमा हुँदा फेनलले आफ्नी प्रेमिकाले अर्का पुरुषसँग सम्बन्ध राखेका कारण हत्या गरेको आफूलाई बताएको उनको दाबी छ।

तर फेनलका वकिलले भने उक्त दाबी असत्य भएको बताएका छन्। उनका अनुसार ती साक्षी पेसेवर अपराधी हुन र उनी आफू जोगिन खोजेका छन्। बिबिसी

    सम्बन्धित समाचार...