६ बैशाख २०८१, बिहीबार

गरुवामा पुल शिलान्यासः वर्षौँको पिरलो हट्नेमा स्थानीय आशावादी

ilam

इलाम, यहाँस्थित माई नगरपालिकाको गरुवा खोलामा पुलको शिलान्यास भएपछि स्थानीयवासी आशावादी देखिएका छन् । पुलको शिलान्यास भएसँगै बर्खामास खोलाबाट तर्नुपर्ने समस्या हट्नेमा स्थानीयवासी आशावादी देखिएका हुन् । बर्खामास खोला बढ्दा यहाँका स्थानीयवासीलाई ज्याननै जोखिममा पारेर खोला तर्नुपर्ने बाध्यता छ । अब भने केही सालमै पुल बनिने भएपछि स्थानीयवासी खुसी देखिएका हुन् ।

“अब पुलको सपना पूरा हुन्छ भन्नेमा छौँ”, स्थानीय बलबहादुर राईले भन्नुभयो, “शिलान्यासपछि केही आश पलाएको छ ।” धरमुपुर र सिञ्जालीटार जोड्ने २५ मिटर लम्बाइको पुल १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले मङ्गलबार शिलान्यास गर्नुभयो । प्रदेश सरकार र माई नगरपालिकाको साझेदारीमा आउँदो दुई वर्षभित्र पुल बनिसक्नेगरी ठेक्का लागेको छ ।

पुल शिलान्यास कार्यक्रममा मन्त्री आङ्बोले देश समृद्धिको यात्रामा अघि बढेका बेला पूर्वाधार विकासको काम धमाधम भइरहेको बताउनुभयो । “बजेट पहिले नै निश्चित भएकाले यो पुल निर्माणका लागि आर्थिक अभाव रहँदैन”, उहाँले भन्नुभयो, “पुल समयमै निर्माण सम्पन्न गरी स्थानीय उपभोक्तालाई सेवा दिन प्रदेश सरकार प्रतिबद्ध छ ।” गरुवा खोलामा निर्माण हुने पुलले नगरको वडा ४, ५ र १० तथा सूर्याेदय नगरपालिकाको वडा १३ र १४ का नागरिक लाभान्वित हुने छन् ।