१५ चैत्र २०८०, बिहीबार

मोटरसाइकलको ठक्करबाट शिवसताक्षीमा पैदलयात्रीको मृत्यु

accident

मोटरसाइकलको ठक्करबाट गए राति झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिलेस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट शिवसताक्षी–११ का ३० वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रकाश जवेगुका अनुसार को२प ६९७० नंको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका विष्टको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा विष्टसँगै रहेका स्थानीय ईश्वरी तिम्सिना पनि घाइते हुनुभएको र उहाँको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विपरीत दिशाबाट आएको ट्रकको लाइट जुधेर मोटरसाइकल चालकले पैदलयात्री नदेख्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटना गराउने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार भएको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गाडीको ठक्करबाट खड्काको मृत्यु, चालक फरार

गाईघाट– उदयपुर जिल्लाको बेलका नगरपालिका–८ सेतीखोलास्थित मदन भण्डारी लोकमार्ग खण्डमा शनिबार साँझ एक परिचय नखुलेको गाडीले ठक्कर दिँदा स्थानीय ३८ वर्षीय हरि खड्काको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ घरबाट बाहिर सडक पार गरेर अर्को टोल जाने क्रममा रामपुर ठोक्सीलाबाट पूर्वतर्फ गइरहेको परिचय नखुलेको चारचक्के गाडीले खड्कालाई ठक्कर दिँदा खड्काको घटनास्थलमै मृत्यु भएको हो । तीव्रगतिमा आइरहेको गाडीले खड्कालाई ठक्कर दिएर गाडी र चालक फरार रहेका कारण गाडी र चालकको खोजी शुरु भइरहेको उदयपुरको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताउनुभयो ।