१३ बैशाख २०८१, बिहीबार

भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना

baitdi hospital

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटरसहितको दुई बेडको आइसियु कक्ष स्थापना भएको छ । कोरोनाका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना गरेका छौँ ।”

जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना भएपछि सञ्चालनमा भने समस्या हुने भएको छ । आइसियुका लागि दक्ष जनशक्ति नहुँदा तत्काल सञ्चालनमा बाधा पुगेको डा जोशीले बताउनुभयो । आइसियु सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भए पनि जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा आइसियु सञ्चालनमा समस्या आउने देखिएको छ । उहाँले भन्नुभयो, “आइसियु कक्ष स्थापना भयो तर त्यसमा काम गर्ने विशेषज्ञको अभाव हुँदा सञ्चालनमा समस्या छ ।”

यस्तै जिल्ला अस्पतालमा कार्यरत डाक्टर र नर्सलाई पनि आइसियु सञ्चालनका लागि तालीमको आवश्यकता पर्ने र त्यो तालीम कसैले पनि लिएको छैन । कोरोनाका गम्भीर बिरामीलाई सेवा दिने उद्देश्यले प्रदेश सरकारले जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापनाका लागि उपकरण पठाएको थियो । उपकरणसँगै दक्ष जनशक्ति पनि आवश्यक पर्ने भए पनि दक्ष जनशक्ति नपठाउँदा आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ ।

बैतडी जिल्लाभरि हालसम्म ५६९ मा कोरोना पुष्टि भएकोमा एकको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । जिल्लाभरि हाल ६४ सक्रिय सङ्क्रमित रहेकोमा ५०४ जनाले कोरोना जितिसकेका छन् ।

दुई स्थानीय तहका विद्यालय पुनः बन्द

कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बैतडीका दुई स्थानीय तहमा सञ्चालनमा आएका विद्यालय पुनः बन्द भएका छन् । जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकाका विद्यालय पुनः बन्द भएका हुन् ।

कोरोना सङ्क्रमण फैलन नदिने यी दुवै स्थानीय तहमा लकडाउन घोषणा गरेकाले विद्यालय पुनः बन्द भएका हुन् । दशरथचन्द नगरपालिकाकाले मङ्सिर २२ गतेसम्म लकडाउन गरेकाले विद्यालय पनि बन्द रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुई दिन सञ्चालनमा आएका विद्यालय पुनः बन्द भएका छन् ।”

यस्तै डिलाशैनी गाउँपालिकाले पनि मङ्सिर २६ गतेसम्मका लागि लकडाउन गरेको छ । लकडाउन गरेकाले गाउँपालिकाभित्रका विद्यालय बन्द भएका प्र्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले बताउनुभयो । जिल्लाका अन्य आठ वटा स्थानीय तहहरुमा शिक्षण सिकाइ निर्देशिका २०७७ अनुसार विद्यालय सञ्चालनमा रहेका शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जोखिम कम भएका स्थानीय तहका विद्यालयमा पठनपाठन भइरहेको छ ।”

बैतडीमा हालसम्म ५७० मा सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये ६५ जना मात्रै सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ४२ जना रहेका छन् । यस्तै डिलाशैनी गाउँपालिकामा १६, पाटन नगरपालिका चार, पुर्चौंडी नगरपालिकामा दुई र दोगडाकेदार गाउँपालिकामा एक जना सक्रिय सङ्क्रमित रहेका छन् ।