१६ बैशाख २०८१, आईतवार

नयाँ भवन पाएपछि विद्यार्थी खुशी

School

विद्यलाय भवन बनाइरहँदा जस्ताको टहरामा बढ्दै आएका दाप्चा माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थी विवेक श्रेष्ठ खुशी देखिएका छन् । नयाँ भवनमा पढ्न पाउने भएपछि उहाँ खुशी हुनुभएको हो । नमोबुद्ध नगरपालिका–८ डराउने पोखरीस्थित दाप्चा माविका विद्यार्थीले यसअघि भूकम्पले क्षति पु¥याएको विद्यालय भवनमा नै केही वर्ष बसेर पढेको र त्यसपछि नकिकैको सामान्य क्षति भएको भवनमा अध्ययन गर्दै आएका थिए । सुविधा सम्पन्न नयाँ भवनमा बसेर पढ्न पाउने भएपछि श्रेष्ठलगायत विद्यार्थीमा खुशी छाएको छ ।

कक्षा १० मै अध्ययनरत अर्का विद्यार्थी पुनम अधिकारीले क्षति भएको विद्यालय भवनमा बसेर पढ्नुपर्ने र विद्यालय भवन बनाउने बेलामा भएको हल्लाले गर्दा राम्रोसँग पढ्न नपाएको बताउँदै अहिले नयाँ भवनमा पढ्न पाउने भएपछि निकै खुशी लागेको बताउनुभयो । उहाँका अनुसार ठूला कक्षामा अध्ययनरत विद्यार्थीलाई भूकम्पले सामान्य क्षति पु¥याएको भवनमा र साना कक्षाका विद्यार्थीलाई नजिकैको जस्ताको टहरामा पढाउँदै आएका थिए । हाल सुविधा सम्पन्न भवनमा बसेर पढ्न पाएपछि विद्यार्थी खुशी भएका छन् । सो विद्यालयमा २६६ विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयका प्रधानाध्याक दिनेश अधिकारीले दाप्चा क्षेत्रको नै सबैभन्दा पुरानो विद्यालयले नयाँ सम्पन्न भवनसम्म आइपुग्न धेरै सङ्घर्ष गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार विक्रम संवत् १९८६ मा साविक डराउने पोखरी गाविसको भीमसेनस्थानको पाटीमा संस्कृत भाषा पाठशालाको रुपमा अध्ययन गर्दै आएको विद्यालयपछि पञ्चायत भवनमा बसेर अध्ययन अध्यापन गर्दै आएको थियो ।

उहाँले भन्नुभयो, “२०३८ सालमा अस्टे«लियन वन परियोजनाबाट पाँच कोठे विद्यालय भवन बनाइदिएपछि बल्ल विद्यालय भवनमा नै बसेर पढ्न पाएको हो ।” विसं २०६६÷६७ सम्म जस्तोका छानो चुहिएको मुनि बसेर पठनपाठन गर्दै आएको र त्यसपछिका दिनमा पनि पाटीको चौरमा बसेर पठनपाठन गरेर बिताएको उहाँले स्मरण गर्नुभयो । अब नयाँ भवन पाएपछि छुट्टै गौरवको महसुुस भएको उहाँले बताउनुभयो । साविक डराउने पोखरी गाविसको एक मात्रै माध्यमिक विद्यालयमा कक्षा कोठा अभाव भएपछि विद्यार्थी स्थानीय बिन्धवासिनी मन्दिरको पाटी, चौरमा बसेर अध्ययन गर्दै आएका थिए ।

विद्यालयको उक्त समस्या विभिन्न सञ्चारमाध्यमा निरन्तर प्रकाशित भएपछि लवग्रिन जापानको रु २३ लाख सहयोग र स्थानीय श्रमदानसमेत गरी करिब २७ लाखको लागतमा चार कोठे विद्यालय भवन निर्माण भएको छ । “यदि सञ्चारमाध्यमले यहाँका समस्यालाई उजागार नगरेको भए भवन बन्दैनथ्यो”, उहाँले भन्नुभयो, “अब नयाँ भवनसँगै सुन्दर कक्षा कोठा त पायौँ, त्यसभित्र रहेका पुस्तकालयको दराज, कम्प्युटर, विज्ञान प्रयोशालाका लागि बनाएका ठाउँ सबै खाली रहेकोले त्यसलाई सामग्रीले भराउने काममा नगरपालिका, प्रदेश र सङ्घीय सरकारलाई आग्रह गर्दछु ।”

सो विद्यालयमा अहिले दरबन्दीकोसमेत अभाव रहेकाले त्यसतर्फ सम्बन्धित पक्षको ध्यान जान आवश्यक रहेको उहाँले बताउनुभयो । गुणस्तरिय शिक्षाको कुरा उठिरहेको बेला यहाँका विद्यालयमा मावि शिक्षक दरबन्दी एक जना, निमाविको तीन जना र प्राविको आठ जना छ । “यस्तो अवस्थामा कसरी गुणस्तर शिक्षा दिने ? त्यसतर्फ पनि सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो, “प्राविको शिक्षकले माविसम्म पढाउँदा निकै अफ्ठ्यारो भएको छ ।” सो क्रममा उहाँले अब प्रदेश सरकारले व्यवस्थापन गर्दै आएको विद्यालय नर्स कार्यक्रमअन्तर्गत नर्सको दरबन्दी उपलब्ध गराउन विद्यालयका प्रधानाध्यापक अधिकारीले आग्रह गर्नुभयो । विद्यालयले छिट्टै प्राविधिक शिक्षासँगै उच्च शिक्षा सञ्चालन गर्ने सोचमा रहेको उहाँले बताउनुभयो ।

नयाँ भवन बुधबार वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामाले उद्घाटन गर्नुभयो । सो क्रममा उहाँले नगरपालिका र व्यवस्थापन समितिले गरेको काममा थप सहयोग गर्नको लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब यस विद्यालयको नर्स कार्यक्रमको लागि नगरपालिकासँग समन्वयमा दाप्चा मावि छनोटमा परिसकेको छ ।”

विज्ञानको प्रयोगशालाको विषयमा यसै वर्षभित्रमा आवश्यक सहयोग गर्ने समेत उहाँले बताउनुभयो । नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले पुरानै ढर्रामा नभइ प्राविधिक शिक्षाको व्यवस्था गर्नका लागि दाप्चा माविलाई नर्सिङ क्याम्पसको रुपमा विकास गर्न नगरपालिकाले सोच बनाइरहेको बताउनुभयो ।

नगरपालिका शिक्षा शाखा प्रमुख जनार्दन रिजालले कोभिडको प्रभाव कम हुँदै गएको कारण विद्यालय खोलिसकेकाले अब विद्यार्थीलाई स्वास्थ्य सजगताका साथ विद्यार्थीलाई विद्यालयमा पठाउन आग्रह गर्नुभयो । जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) काभ्रेपलाञ्चोकका प्रमुख देवकुमार बरालले भूकम्प पुनःनिर्माण कार्यक्रमअन्तर्गत निर्माण भइरहेको विद्यालय भवन करिब ९० प्रतिशतमा सम्पन्न भएर हस्तान्तरण गरिसकेको बताउनुभयो । उहाँले यसै वर्षभित्रमा सबैजसो भवन निर्माण गरी हस्तान्तरण गर्ने अवस्थामा पुग्ने बताउनुभयो ।

उहाँका अनुसार एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको दश वटा ठूला भवनमध्यको दाप्चा माविको भवन निर्माण गरी हस्तान्तरण गरेको तेस्रो पटकको हो । नेपाल सरकारको लगानीमा एशियाली विकास बैंकको ऋण सहयोगमा करिब सात करोड ८३ लाखमा २१ कोठे विद्यालय भवन निर्माण भएर बुधबार विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । निर्माण भएको विद्यालय भवन अपाङ्गमैत्री, बालमैत्री रहेको छ । भवनसँगै दुई हजार लिटर क्षमताको खानेपानी ट्याङ्कीसहित शौचालयलगायत संरचना निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का इञ्जिनीयर बाबुराम देवकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयको पुनःनिर्माणमा सघाउने जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का इञ्जिनीयर सोभित श्रेष्ठ, बाबुराम देवकोटा, सव–इञ्जिनीयर गणेश मैनाली, श्रेया झा, सविन कायस्थ, परामर्शदाता, निर्माण व्यवसायीका प्रतिनिधि चेत लामा, दामोदर श्रेष्ठ र पत्रकार नगेन्द्र अधिकारीलगायतलाई सम्मान गरिएको थियो ।