१३ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्रीबाहेक अहिले भएका सबै मन्त्री हट्छन् र नयाँ व्यक्ति आउँछन्’ : वामदेव गौतम

BAAMDEV GAUTAM

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली बाहेक सबै मन्त्री हट्ने खुलासा गरेका छन् ।

प्रधानमन्त्री बाहेकका सबै मन्त्र हट्ने र नयाँ नियुक्त हुने उनले बताए ।

‘मन्त्रिमण्डल पुनर्गठन गर्ने बेला आयो भनेर प्रधानमन्त्रीले महसूस गर्नुभएजस्तो लाग्छ । कसैलाई हटाउने भन्ने होइन पुनर्गठन गर्ने हो,’ गौतमले भने, ‘मन्त्रिपरिषद् पुनर्गठन भनेकै त्यही हो नि ! प्रधानमन्त्रीबाहेक अहिले भएका सबै हट्छन् र नयाँ व्यक्ति आउँछन् ।’

नेकपाभित्र लामो समयदेखि मन्त्रिमण्डल पुनर्गठनको बहस चलिरहेको छ । प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूको जस्तै मन्त्रीहरूको पनि सामूहिक राजीनामा आउँछ त ? भन्ने प्रश्नमा गौतमले भने– ‘मैले सोधेको थिएँ, एक दुईजना परिवर्तन गर्ने हो कि पुनर्गठन गर्ने हो ? प्रधानमन्त्रीले भन्नुभयो– पुनर्गठन हो । पुनर्गठनमा कसैसँग राजीनामा मागिँदैन । भएकाहरू हट्छन, नयाँ आउँछन् ।’

उनले मन्त्रिपरिषद् कहिले पुर्नगठन हुने भन्ने चाँही खुलाएनन् । उनले प्रधानन्त्री आफूलाई सत्य कुरा नभन्ने दाबी गरे ।

‘त्यो प्रमलाई सोध्नु पर्छ । उहाँले पुनर्गठन हुन्छ भनेर भन्नुभएको थियो । कहिले हुन्छ भनेर मैले सोधिनँ किनभने म सत्य बोल्ने व्यक्ति मैले पहिले नै भन्दिन सक्छु भनेर उहाँले मलाई मिति दिनुहुन्न । मिति नदिएर राम्रै भएको छ, तपाईंहरूले सोध्दा मैले भन्नुपर्छ फेरि झुटो बोल्नु भएन ।’