७ बैशाख २०८१, शुक्रबार

छलफल र बहसले पार्टीलाई नै फाइदा पुग्छ : मन्त्री पुन

छलफल र बहसले पार्टीलाई नै फाइदा पुग्छ : मन्त्री पुन

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपाभित्र अहिले सिर्जना भएको विवादले केही अफ्ठ्यारो स्थिति पैदा भए पनि छलफल र बहस हुँदा त्यसले पार्टीलाई नै फाइदा पुग्ने बताउनुभएको छ । रोल्पा नगरपालिका–३ लाँकुरीमा ३३ र ११ केभीको सबस्टेसनको उद्घाटन गर्दै मन्त्री पुनले भन्नुभयो, ‘‘पार्टी फुट्ने र सरकार विघटन हुनेमा चिन्ता गर्नु पर्दैन । पार्टीलाई थप बलियो बनाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने हुन्छ ।’’

उहाँले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा पुस्ता तयार रहेकोसमेत बताउनुभयो । ऊर्जामन्त्री पुनले भन्नुभयो, “दोस्रो पुस्ता सरकार र पार्टीको नेतृत्व लिन तयार छ ।” वर्तमान सरकार उज्यालो नेपाल बनाउने अभियानमा लागेको बताउँदै उहाँले सो सबस्टेसन सञ्चालनमा आएपछि रोल्पा र प्यूठानका केही स्थानमा बिजुली गइरहने समस्याको समाधान हुनेछ भन्नुभयो । मन्त्री पुन रोल्पामा हुने विभिन्न कार्यक्रममा सहभागी हुनुहुने बताइएको छ ।