fbpx
१६ फाल्गुन २०७७, आईतवार

विद्यालयमा दिइने सजायको स्वरूप बदलियो

विद्यार्थीलाई पिटेरै पढाइमा अब्बल बनाउन सकिन्छ भन्ने मानसिकता बिस्तारै बदलिँदै गएको छ । विद्यालयलाई भयरहित बनाउन शिक्षक दण्डसजाय बिनाको पढाइ हुनुपर्ने बताउँछन् ।

पहिले विद्यार्थीलाई लौरोले हिर्काउने, मुर्गा (कुखुरा) बनाउने जस्ता सजाय सामान्य मानिए पनि अहिले शिक्षकमा सजाय नदिइकन पढाउने चेतना विस्तार भएको कतिपयको भनाइ छ तर कैलालीको लम्कीस्थित एक विद्यालयका छात्र अनिल चौधरी कुनै न कुनै बहानामा आफूहरुले शिक्षकबाट सजाय पाउने क्रम जारी नै रहेको बताउनुहुन्छ । “लठ्ठीले पिट्ने काम त गर्नुहुन्न तर कान निमोठ्ने, पिठ्यँुमा हान्ने, आँखा तर्ने, केही समय उभ्याउने काम गर्नुहुन्छ”, अनिल भन्नुहुन्छ, “गृहकार्य नगर्ने विद्यार्थीले यस्ता सजाय दिनहुँ जस्तै पाउँछन् । पिट्ने कार्य नभए पनि अन्य खालको सजाय भने पाइरहका छौँ ।”

टीकापुरकै एक सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई पनि विद्यालयमा सजायको स्वरूपमात्र परिवर्तन भएको जस्तो लाग्छ । उहाँको विद्यालयमा पनि विद्यार्थीलाई कक्षा कोठाबाट बाहिर निकालिदिने, अरु साथीको अगाडि बेइज्जत गर्ने जस्ता कार्य शिक्षकबाट भइरहन्छन् । “शिक्षकले राम्रो पढ्ने विद्यार्थीसँग तुलना गर्छन्, कहिलेकाहीँ गल्ती गरेमा सबैको अगाडि भन्ने, प्रशासनमा लगेर गाली गर्ने काम भइरहन्छ”, छात्राको अनुभव छ ।

शिक्षकले पिट्दा नजानेका कुरा सोध्न गाह्रो हुने, पढ्नै मन नलाग्ने जस्ता अनुभव पनि विद्यार्थीहरु सुनाउँछन् । सरस्वती माध्यमिक विद्यालय बनगाउँकी छात्रा सुस्मिता चौधरीले विद्यालयमा सजाय विनाको वातावरण विद्यार्थीले खोज्न थालेको बताउनुभयो । “कमजोर विद्यार्थीलाई त्यत्तिकै पनि विद्यालय जान मन लागेको हुँदैन, त्यसैमाथि सजाय पाएमा पढाइ छोड्ने जोखिम बढी हुन्छ”, छात्रा चौधरी भन्नुहुन्छ, “पिट्ने वा सजाय दिनुभन्दा कमजोर विद्यार्थी, रिसालु विद्यार्थीका लागि विशेष कक्षाको व्यवस्था हुनुपर्छ ।”

विद्यार्थीलाई कुट्नुपर्छ वा म कुट्छु भनेर शिक्षकले सार्वजनिक रूपमा नस्वीकारे पनि विद्यार्थीलाई सजाय नदिने शिक्षक कमै छन् । सरस्वती माविका शिक्षक रामलाल चौधरीले पिटाइ खाने विद्यार्थी शुरुमा कक्षा छोड्ने र विस्तारै पढाइ नै छोड्नसक्ने जोखिम रहेको बताउनुभयो । विगतमा दिइने सजायलाई हेर्ने हो भने अहिले सजाय कम भएको अभिभावकको अनुभव छ । अभिभावक कमला सेठ्ठी करिब १८ वर्ष पहिले विद्यालयमा पढ्दा कक्षामा गृहकार्य नगर्ने, नियमित विद्यालय नआउने र सानो गल्ती गर्दा पनि विद्यार्थीलाई कठोर सजाय दिएको सम्झनुहुन्छ । “शिक्षकले कुट्दा विद्यार्थीको कानको जाली फुटेको, अङ्गभङ्ग भएको घटना मलाई अहिले पनि याद छ”, उहाँ भन्नुहुन्छ, “तर आजभोलि विद्यालयमा कुटेर पिटेर पढाउनेभन्दा सम्झाईबुझाई पढाउने अभ्यास शिक्षकले गरिरहेका छन् । यो विस्तारै परिवर्तन हुँदै गएको छ ।”

बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थानमा शारीरिक, मानसिक यातना दिनु कानूनी अपराध हो । युनिसेफले सन् २०१४ मा गरेको सर्वेक्षणअनुसार नेपालमा एक वर्षदेखि १४ वर्ष उमेरसम्मका ८० प्रतिशतभन्दा धेरै बालबालिका अनुशासनका नाममा हुने हिंसाबाट प्रभावित हुने गरेका छन् । नानीबाबुलाई घर, समाज र विद्यालयमा बल प्रयोग गरेर अनुशासनमा राख्नु गलत भएको टीकापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरीको भनाइ छ । “विद्यालयमा बालबालिकामाथि गरिने व्यवहारले उनीहरुको जीवनमा नकारात्मक असर पर्छ”, शिक्षा अधिकृत चौधरी भन्नुहुन्छ, “पछिल्लो समय विद्यालयमा दिइने सजाय अन्त्य गर्न शिक्षकलाई बाल मनोविज्ञान, बालमैत्री व्यवहारसम्बन्धी ज्ञान, सीप र तालिम दिन थालेका छौँ । विद्यार्थीलाई सजाय नदिइकन पढाउन सरकारले नीतिगतरूपमै कडाइ गरेको छ ।”

चौधरी विद्यालयमा विद्यार्थीलाई शिक्षकले कुटपिट गरेमा वा अन्य कुनै दुव्र्यवहार भएमा विद्यार्थीले गुनासो गर्न सहज होस् भनी सबै विद्यालयमा ‘सुझाव पेटिका’ राख्ने व्यवस्था मिलाइएको बताउनुहुन्छ । “किशोर किशोरी मैत्री स्वास्थ्य कार्यक्रम लागू गरेका छौँ, गुनासो सुन्न शिक्षक तोकेका छौँ”, उहाँले भन्नुभयो, “एक बालक, एक बालिालाई साथी शिक्षक बनाएका छौँ । यसले बालबालिकामाथि विद्यालयमा हुने हिंसा न्यूनीकरणमा सहयोग गर्छ ।”