१५ बैशाख २०८१, शनिबार

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Accident Thakkar

दाङमा बस र मोटरसाइकल ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगढीमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको रा१ख २११० नंको बस र पश्चिमतर्फ जाँदै गरेको लु४१प २१३ नंको मोटरसाइकल ठोक्किँदा रोल्पा त्रिवेणी गाउँपालिका–९ निवासी २३ वर्षीय किरण पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक पुनको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । साथै मोटरसाइकलको पछाडि सवार रहेका सल्यान शारदा नगरपालिका–२ निवासी २१ वर्षीय लक्ष्मण बोहरोको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । उनको अवस्था सामान्य छ । बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना सङ्क्रमितको मृत्यु

दाङ्मा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका व्यवस्थापक दोर्ण वलीका अनुसार सघन उपचारकक्षमा राखेर उपचार गरिरहेका घोराही उपमहानगरपालिका–१३ का निवासी ६६ वर्षीय पुरुषको मृत्यु भएको थियो । यससँगै दाङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले बताउनुभयो ।