१६ चैत्र २०८०, शुक्रबार

३९४ औँ हप्तामा वाग्मती सफाइ महाअभियान

bagmati safai

वाग्मती सफाइ महाअभियानको ३९४औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ गरियो ।

पशुपतिको आर्यघाट एवं भष्मेश्वर घाट क्षेत्रमा बढी फोहर भेटिएको उहाँले बताउनुभयो । कोरोना त्रासका कारण भौतिक दूरी कायम गरेर नदी किनार नजिक निवास भएका अभियानकर्मी मात्र उपस्थित रहेकाले सबै फोहर टिप्न नसकिएको अभियानकर्मीको भनाइ छ ।

सफाइसँगै पशुपति क्षेत्रमा आएका भक्तजनलाई करिब १५० वटा गुर्जोका बिरुवा समेत वितरण गरिएको अभियानकर्मी खरेलले बताउनुभयो । पशुपति क्षेत्रको सफाइमा अभियानकर्मी प्रमिला पौडेल, गङ्गा पुरी, सुष्मा भेटवाललगायत अभियानकर्मीको सक्रियता थियो । पशुपतिनाथको मूल मन्दिर भने चैतदेखि नै बन्द गरिएको छ । मन्दिर पुसदेखि खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा अनुरोध गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसैगरी शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ । वाग्मती किनारमा पुराना जस्ता गाडिएर रहेको भेटिएकाले त्यसलाई निकालेर व्यवस्थापन गरिएको छ । अधिकार सम्पन्न वाग्मतीले नदी किनारमा पर्खाल लगाउने कामदारलेसमेत बोरा नदीमै फालेर फोहर गरेकाले टिप्न लगाइएको अभियानकर्मी पौडेलले राससलाई जानकारी दिनुभयो ।

कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मीले जनाएका छन् । सफाइपछि वाग्मतीको ४०० हप्ताको तयारीका लागि छलफल गरिएको थियो । आगामी पुस २५ गते सफाइ महाअभियानको ४०० हप्ता विशेषरुपमा मनाउने तयारी भइरहेको छ । यस क्षेत्रको सफाइमा चक्रबहादुर चन्द, प्रिया लामिछाने, रामशरण कार्कीलगायत अभियानकर्मी सक्रिय हुनुभएको थियो ।

वाग्मती सफा बनाउन जेसुकै गर्न तयार

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३५४औँ हप्तामा गोठाटार पुल क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा वाग्मती प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, अधिकार सम्पन्न वाग्मतीका अध्यक्ष उद्धव तिमल्सिना, आयोजना प्रमुख नवराज प्याकुरेल, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायणबहादुृर सुवेदी, वडा नं ६ का अध्यक्ष रमेश अर्याललगायतका व्यक्तित्व पनि यस क्षेत्रको सफाइमा सहभागी हुनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेशसभा सदस्य लामाले वाग्मतीको सौन्दर्यीकरणका लागि नगरपालिका र अधिकार सम्पन्न वाग्मतीलगायत सरोकार भएका निकायबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभएको थियो । अधिकार सम्पन्न वाग्मतीका नवनियुक्त अध्यक्ष तिमल्सिनाले वाग्मतीलाई फोहर हुनुअघिको पुरानैस्वरुपमा फर्काउन लागिपर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्षद्वय सुवेदी र अर्यालले वाग्मती स्वच्छ बनाउन नगरपालिकाकोतर्फबाट आवश्यक सबै किसिमका सहयोग गर्न तयार रहेको जानकारी गराउनुभयो । ‘मनदेखि नै मुहान क्षेत्रको वाग्मती सफा गरौँ’ भन्ने नाराका साथ शुरु भएको अभियानले कुहिने र नकुहिने फोहरलाई छुट्याएर व्यवस्थापन गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चको अध्यक्षसमेत रहनुभएका अभियानकर्मी उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

गोकर्णेश्वर नगरपालिकाको माकलबारीबाट गुह्येश्वरीसम्मको नदी क्षेत्रलाई विशेष अभियानका साथ सफा बनाउन लागिएको मञ्चले जनाएको छ । यसका लागि कोरोना महामारीकाबीच भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर अर्को हप्तादेखि नै अभियान शुरु गरिने जनाइएको छ ।

वाग्मतीसँगै आज रुद्रमती, विष्णुमती, मनोहरालगायत सहायक नदी, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा पनि स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ गरिएको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको विशेष सक्रियतामा वाग्मती सफाइ महाअभियान शुरु भएको हो ।

महाअभियान शुरु भएसँगै यसका सहायक नदी, उपत्यकाका विभिन्न स्थानलगायत मुख्यमुख्य शहरमा समेत सफाइ जागरण शुरु भएको छ । हालसम्म १०६ स्थानमा सफाइ भइरहेको जनाइएको छ । नागरिकस्तरबाट शुरु भएका स्वयंसेवी अभियानका लागि पैसा नउठाउने र कुनै समितिसमेत नबनाउने नीति रहेको मुख्य अभियानकर्मी पौडेलले बताउनुभयो ।