१४ बैशाख २०८१, शुक्रबार

सप्तरीमा हात्ती मृत फेला

elephant

सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा आज एउटा जङ्गली हात्ती मृत फेला परेको छ । बिजुली बत्तीको करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताउनुभयो । पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो ।

“नजिकै रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलबाट आएर गाउँमा मृत अवस्थामा हात्ती भेटिएको हो”, उहाँले भन्नुभयो, “हात्तीको शरीरले बिजुलीको तार किचिएर पोलसमेत झुकेको छ ।” उहाँले हात्तीको अन्य कुनै भागमा चोटपटक नभएको जनाउँदै करेन्टकै कारण मरेको हुनसक्ने बताउनुभयो ।

घटनास्थलमा आरक्षका सहायक वार्डेन सन्तोष भगत पुग्नुभएको छ । मृत हात्तीलाई कानूनी प्रक्रिया पूरा गरेर मरेकै स्थानमा खाल्डो खनेर गाडिने सहायक वार्डेन भगतले बताउनुभयो ।

    सम्बन्धित समाचार...