८ बैशाख २०८१, शनिबार

सुस्तश्रवणयुक्त बालबालिकाका लागि विद्यालय भवन

School

हुम्लाको मध्यक्षेत्रस्थित सर्केगाड गाउँपालिकामा सुस्तश्रवणयुक्त बालबालिकाका लागि दुई कोठे भवन निर्माण भएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको रु २० लाखको आर्थिक सहयोगमा सुस्तश्रवणयुक्त बालबालिकाका लागि विशेष स्रोत कक्षा सञ्चालन गर्न दुई कोठे विद्यालयको भवन निर्माण गरिएको बहिरा सङ्घ हुम्लाले जनाएको छ ।

सर्केगाड गाउँपालिका–४ दुल्लीमा सुस्तश्रवणयुक्त बालबालिकालाई पठनपाठनमा सहज पुग्नका लागि सुस्तश्रवणयुक्त प्राथमिक विद्यालयको भवन निर्माण गरिएको बहिरा सङ्घका जिल्ला अध्यक्ष धर्मदत्त फडेराले जानकारी दिनुभयो ।

विगतमा सुस्तश्रवणयुक्त बालबालिकाका लागि भवन नहुँदा अन्य विद्यार्थीसँग विद्यालय जानुपर्दा पठनपाठनमा निकै समस्या हुने देखिएपछि उनीहरुका लागि छुट्टै भवन निर्माण गरिएको हो । उक्त विद्यालय भवनमा २५ जना सुस्तश्रवण भएका बालबालिकाले अध्ययन गर्ने भएका छन् ।

“सुस्तश्रवणयुक्त बालबालिकाका लागि दुल्लीमा पहिलोपटक सुविधा सम्पन्न भवन निर्माण गरिएको छ”, अध्यक्ष फडेराले भन्नुभयो, “सो भवनमा अपाङ्गमैत्री शौचालय र खानेपानी धाराको आवश्यकता रहेकाले यसका लागि सहयोगको खोजी भइरहेको छ ।”