७ बैशाख २०८१, शुक्रबार

मोटर चढेर सदरमुकाम पुग्ने रहर

Khachchad

राष्ट्रिय सडक सञ्जालको पहुँचमा नपुगेको जिल्लाको नार्पाभूमि गाउँपालिकाका मनिसलाई गाउँबाट सदरमुकाम चामेसम्म मोटर चढेर एकै दिनमा पुग्ने रहर छ । अधिकांश दैनिक उपभोग्य सामान खच्चडबाटै भित्रिने गरेको यस ठाउँमा चार हजार मिटरभन्दा अग्लो हिमालको बाटोबाट दैनिक सयौँ खच्चड सामान बोकेर ओहोरदोहोर गरिरहेका हुन्छन् ।

कुनै समय बाटो हिँड्नसमेत गाह्रो पर्ने क्याङ भिरमा पछिल्लो समय भने खच्चडबाट दैनिक उपभोग्य वस्तु ढुवानीमा गरिन्छ । वर्षौँदेखि मनाङको सदरमुकाम चामेको कोतोदेखि यस गाउँपालिकाको केन्द्र र फू गाउँसम्म विकास निर्माणका सामग्री र दैनिक उपभोग्य वस्तु खच्चडबाटै ढुवानी गर्दै आएको वडा नं ५ का वडाध्यक्ष सोनम तेजे लामाले बताउनुभयो । “विकास निर्माणका सामान खच्चडबाट ढुवानी हुँदै आएको छ, नुन, तेल, चामल, सिमेन्ट, विकास निर्माणका आवश्यक सामान दैनिक खच्चडबाट महङ्गो मूल्य तिरेर गाउँसम्म पुर्याउन बाध्य छौँ”, उहाँले भन्नुभयो ।

पहिले मानिसले दुई दिन लगाएर ज्यानै जोखिममा राखेर सामान ओसारपसार गर्नु पर्नेमा अहिले खच्चडबाट सस्तो मूल्यमा सामान ढुवानी हुन थालेको स्थानीयवासी बताउँछन् । तरकारीलगायत दैनिक प्रयोगका सामानहरु खच्चडबाट ढुवनी गर्दा समयमा नआउने, सड्ने गल्ने र कुहिने समस्या रहेको स्थानीय सोनम लाक्पा शेर्पाले बताउनुभयो । मोटर बाटो निर्माण भए यस्तो समस्या नहुने उहाँको भनाइ छ । उहाँका अनुसार निजी घर निर्माणका लागि जस्तापातासमेत खच्चडबाट ढुवानी गर्दा प्रतिकेजी रु ८० देखि ९० सम्म लाग्ने गरेको छ ।

खच्चडमार्फत दैनिक छ हजारदेखि १५ हजार केजीसम्म सामान आउने गरेको स्थानीयवासीले बताएका छन् । सडकको पहुँच नपुगेको यस गाउँपालिकामा दैनिक करिब १०० देखि १५० खच्चडको प्रयोग हुँदै आएको छ । जिल्लाका अरु सबै पालिकालाई मोटर बाटोले जोडे पनि यस गाउँपालिकामा खच्चड र मानिसले नै सामान ओसार पसार गर्नुको विकल्प छैन । स्थानीय तहको निर्वाचनपछि मोटर बाटोको ट्र्याक खोल्ने काम भए पनि एउटै भिर काट्न करोडौँ रकम खर्च गर्नुपर्ने स्थानीय तहले जनाएको छ ।

यहाँका मनिसलाई जिल्ला सदरमुकामसम्म पुग्न पनि दुई दिन लाग्छ । बिरामी परे मानिसको बुई चढ्नु वा हेलिकप्टर चार्टर गर्नुको विकल्प छैन । एक पोका नुन लिनसमेत खच्चड र भरिया पर्खनुपर्ने यस गाउँपालिकाका मानिसलाई गाउँबाट मोटर चढेर सदरमुकाम पुग्ने रहर सपना जस्तै भएको छ ।

    सम्बन्धित समाचार...