४ बैशाख २०८१, मंगलवार

पोखरामा चाडपर्व लक्षित बजार अनुगमन तीव्र

20201111 183232

पोखरामा चाडपर्वमा लक्षित गरेर बजार अनुगमनलाई तीव्र पारिएको छ । गण्डकी प्रदेश बजार अनुगमन समितिले चाडपर्वलाई लक्षित गरेर पोखराका विभिन्न स्थानमा तिहारमा बढी खपत हुने उपभोग्य सामग्रीमाथि अनुगमन गरेको हो ।

बुधबार गरिएको बजार अनुगमनमा मिठाइ, भाइ मसला, खाद्यान्नलगायतमा अनुगमन गरिएको उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिनुभयो । अनुगमनमा मिठाइमा अखाद्य रङ प्रयोग नगर्न, गुणस्तरहीन कच्चा पदार्थ प्रयोग नगर्न, खुला ठाउँमा मिठाइ राखेर बिक्री वितरण नगर्न, तेल घ्यूलाई पुनः प्रयोग नगर्न अनुगमन समितिले निर्देशन दिएको छ ।

कोइरालाले भाइ मिठाइमा राखिने वस्तु काजु, किसमिस, ओखर, बदामको थोक मूल्य घटे पनि प्याकेजिङ गरेर बेच्नेहरुले मूल्य दोब्बर बनाएर बेच्ने गरेको भेटिएको बताउनुभयो । उहाँले आम उपभोक्तालाई भाइ मसला खरिद गर्दा प्याकेजिङ गरिएको भन्दा खुद्रारूपमा खरिद गर्नसमेत आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशका उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेल मिठाइको प्रतिएकाइ लागत कसरी कायम गरिएको हो, सोको विवरण कारणसहित खुलाएर दुई दिनभित्र निर्देशनालयमा पेश गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेश बजार अनुगमन समिति सदस्यसचिव भरतमणि बरालले अनुगमनलाई निरन्तर गरिने र दिएका निर्देशन पूरा नगरे अर्कोपल्ट कारवाही हुने बताउनुभयो । अनुगमन कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत शिवजी बराल, नापतौल तथा गुणस्तर कार्यालयका प्रतिनिधि रघुनाथ पौडेल र निर्देशनालयका वरिष्ठ अधिकृत प्रदीप रेग्मी, अधिकृत नेत्रप्रसाद पौडेललगायतको उपस्थिति थियो ।