१४ बैशाख २०८१, शुक्रबार

चन्दा असुल्ने चन्दका नेता पक्राउ

DSC 1003
फाइल फोटो

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीका जिल्ला नेता ५४ वर्षीय मधुसुधन बजगाईँलाई काभ्रेपलाञ्चोक प्रहरीले आज पक्राउ गरेको छ । धुलिखेल नगरपालिका–१२ शङ्खुपाटीचौर एक्लेखेतका बजगाईँलाई निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बजगाईँलाई जिल्लास्थित व्यापारी–उद्योगीलाई फोनमार्फत धाकधम्की दिई जबर्जस्ती चन्दा असुल्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।

खोजतलासका क्रममा आज बजगाईँकै निवासमा पुगी सोधपुछका क्रममा प्रहरी टोलीप्रति नै अपशब्द प्रयोग गरेकाले तत्कालै पक्राउ गरिएको जनाइएको छ । आफू नेकपा–माओवादीका जिल्ला सदस्य भई पार्टीको नीति–निर्देशनअनुसार काम गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धनका क्रममा बजगार्इँले स्वीकारेका छन् ।

बजगार्इँलाई मुलुकी अपराध, २०७४ को परिच्छेद–५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुरअन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसुर शीर्षकमा मुद्दा दर्ता भई आजै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रनाउ थापाले जानकारी दिनुभयो ।