१९ बैशाख २०८१, बुधबार

बजार अनुगमनका लागि उपसमिति गठन

Udhyog samiti

चाडपर्व नजिकिएसँगै बजारमा कालोबजारी तथा अनुचित व्यापारिक कारोबारमा वृद्धि हुने भन्दै संसदीय समितिले चासो देखाएको छ ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकले छठपर्वसम्म बजार अनुगमनका लागि उपसमिति गठन गरेको हो ।

समितिका सभापति विमलप्रसाद श्रीवास्तवका अनुसार चाडपर्वमा अधिकांश स्थानमा कालोबजारीमा वृद्धि हुने कुरालाई ध्यानमा राख्दै अनुगमनका लागि उपसमिति गठन गरिएको हो ।

चाडपर्वमा अधिकांश सांसदहरु जिल्ला फर्कनु हुने र सबैको ध्यान बजारतिर नपुग्ने हुँदा बजारको अवस्था तथा निरन्तर अनुगमनका लागि उपसमिति गठन गरिएको सभापति श्रीवास्तवले बताउनुभयो ।

उहाँका अनुसार सो उपसमितिले प्रशोधित खानेपानी तथा नूनको मूल्यमा भएको वृद्धिलगायतका विषयमा अनुसन्धान गर्नेछ । उपसमितिमा नेकपाका दिलकुमारी र मायादेवी न्यौपाने, नेपाली काँग्रेसका प्रकाश रसाइली (स्नेही) र सुजाता परियार सदस्य रहनुभएको छ । एक जना सदस्य पछि चयन गरिने जनाइएको छ ।

    सम्बन्धित समाचार...