१४ बैशाख २०८१, शुक्रबार

व्यास नगरपालिकामा आइपुग्यो पोर्टेल पिसीआर मेसिन

byas

कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने पोर्टेल पिसीआर मेसिन तनहुँको व्यासनगरपालिकामा आइपुगेको छ ।

रोटरी इन्टरनेशनलले आज व्यासनगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेलाई उक्त मेसिन हस्तान्तरण गरेको छ । कोरोना भाइरस सङ्क्रमणको दर तीव्र बन्दै गएपछि नगरपालिकामा पिसीआर मेसिन आवश्यक भएकाले उक्त मेसिन नगरपालिकालाई हस्तान्तरण गरिएको रोटरी इन्टरनेशनलले जनाएको छ । एक स्थानबाट अर्को स्थानसम्म सजिलै लैजान सकिने उक्त मेसिनको मूल्य रु. १२ लाख ५० हजार रहेको बताइएको छ ।

उक्त मेसिनबाट चौविस घण्टामा ६४ जनाको पिसीआर परीक्षण गर्न सकिने नगरप्रमुख न्यौपानेले बताउनुभयो । उहाँका अनुसार उक्त मेसिन दमौली अस्पताललाई हस्तान्तरण गरिने छ । मेसिन आएसँगै जिल्लावासीमा खुशीयाली छाएको बताइएको छ ।

क्षेत्री भवनमा क्वारेन्टिन

यसैगरी व्यास नगरपालिका–१ लिचीघारीस्थित क्षेत्री भवनमा क्वारेन्टिन निर्माण गरिएको छ । नजिकिदै गरेको चाडपर्वमा देशविदेशबाट आउने जिल्लावासीलाई लक्षित गरी सो भवनमा व्यवस्थित क्वारेन्टिन निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

उक्त भवनमा करिब ७० देखि ८० जनासम्म अटाउने क्षमताको क्वारेन्टिन निर्माण गर्न लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेका कारण कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।”

    सम्बन्धित समाचार...