१४ बैशाख २०८१, शुक्रबार

दूरी कायम गर्दै सफाइ अभियान जारी

Pro Ktm BagmatiSafai

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि वाग्मती, यसका सहायक नदी र चक्रपथ सफाइ अभियानले भने निरन्तरता पाएका छन् । वाग्मती सफाइ महाअभियानको ३८७औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको थियो । पशुपति क्षेत्रमा पहिलेभन्दा सफा देखिएको उहाँले जानकारी दिनुभयो ।

शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृतवमा सफाइ गरिएको छ । कुहिने फोहरलाई मल बनाइएको र नकुहिने फोहर व्यवस्थापन गरिएको थियो । काठमाडौँ महानगरपालिका वडा नं ३१ का निर्वाचित जनप्रतिनिधिसँग सफाइ अभियानका विषयमा सो अवसरमा छलफलसमेत गरिएको अभियानकर्मी पौडेलले जानकारी दिनुभयो । सफाइमा अभियानकर्मी सृजना काफ्ले, प्रिया लामिछाने, रामशरण कार्की, प्रमिला पौडेल, बानेश्वर महिला वातावरण सेवाका दुर्गा दुलाललगायतले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ अभियानलाई निरन्तरता दिनुभएको थियो ।

रुद्रमती सफाइ अभियानको ३४६औँ हप्तामा कालोपुलबाट रातोपुलको पूर्वी भाग, रातोपुलबाट सेतोपुलको दुवैतिर गरी २१५ वटा गुर्जोको बिरुवा रोपिएको छ । सफाइमा उपस्थित अभियानकर्मीलाई घर घरमा समेत रोप्न एक–एक गुर्जोको बिरुवा उपलब्ध गराइएको अभियानकर्मी रोहित गिरीले जानकारी दिनुभयो । गुर्जोको बिरुवा आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कमलबहादुर राजलवटले निःशुल्क उपलब्ध गराउनुभएको हो । कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत अभियानकर्मीको सक्रियता थियो ।

मनोहरा नदी सफाइ अभियानको १८६औँ हप्तामा नेपालीको महान् चाड बडादशैँ तथा शुभदीपावलीका अवसरमा शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रम गरिएको थियो । महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष, सञ्चारकर्मीलगायतको कार्यक्रममा उपस्थिति थियो ।

चक्रपथ उत्तरी खण्ड सफाइको १८५औँ हप्तामा गोङ्गबुबाट सामाखुसी चोकसम्म सफाइ गरिएको छ । करिब २० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक रिक्सा फोहर सङ्कलन गरिएको अभियानकर्मी एवं लोकगायक तिलक बस्नेतले राससलाई जानकारी दिनुभयो ।

ललितपुरको गोदावरी खोला सफाइको ८४औँ हप्तामा गोदावरी नगरपालिकाको छ स्थानमा सफाइ गरिएको छ । वडा नं १, २, ३ र १४ का विभिन्न स्थानमा नजिक नजिक सफाइ गरियो । भौतिक दूरी कायम गरी सफाइ गरिएको थियो । कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन वाग्मती सुन्दरता सरोकार मञ्चको सहयोगमा अर्को हप्ता गरिने तयारी भइरहेको अभियानकर्मी बेबी राजभण्डारीले जानकारी दिनुभयो ।

गोदावरी खोलाका विभिन्न स्थानमा २० वटा बोर्ड राखिएको छ । नगरपालिकाको सहयोगमा १० र अन्य संस्थाको सहयोगमा १० वटा जनचेतनामूलक बोर्ड राखिएको छ । फ्लेक्स नराखी पुनःप्रयोग हुने फलामको बोर्ड राखिएको छ । सफाइका लागि आवश्यक मास्क, पञ्जासमेत नगरपालिकाले उपलब्ध गराएको अभियानकर्मी राजभण्डारीले सुनाउनुभयो । उपत्यकाका सबै सफाइ अभियान भौतिक दूरी कायम गरी कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका उपाय अपनाएर गरिएको जनाइएको छ ।