८ बैशाख २०८१, शनिबार

काठमाण्डूभन्दा तराईमा बढी दिल्लीको वायु प्रदूषणको असर

delhi pollution

भारतको दिल्लीमा देखिएको विषाक्त हावाको प्रभाव नेपालमा पनि देखापरेको भन्दै धुलोका साना कणबाट जोगाउने खालका मास्क लगाउन वातावरण विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ।

दिल्लीको प्रदूषणले राजधानी काठमाण्डूभन्दा पनि तराईका जिल्लाहरूमा बढी असर पारेको देखिएको विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले बताए।

प्रदूषण मापन गर्दा तराईको लुम्बिनी, सौराहा र नेपालगञ्जमा मापदण्डभन्दा बढी देखिएको विभागले जनाएको हो।

राष्ट्रिय मापदण्डअनुसार पीएम २.५ भनिने सूक्ष्म कण हावामा दैनिक औसतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताइन्छ।

प्रदूषणको अवस्था

नेपालको सौराहा, लुम्बिनी, नेपालगञ्ज र काठमाण्डूमा मापदण्डभन्दा धेरै विषाक्त कण हावामा पाइएको विभागले जनाएको छ।

हावाको गुणस्तर मापन गर्ने रियल टाइम एअर क्वालिटी इन्डेक्सका अनुसार कणको मात्रा लुम्बिनीमा १९८ माइक्रोग्राम प्रति घनमिटर छ भने सौराहामा ११५ माइक्रोग्राम प्रति घनमिटर र नेपालगञ्जमा १९४ माइक्रोग्राम प्रति घनमिटर रहेको छ।

राजधानी काठमाण्डूमा भने तराईका जिल्लाभन्दा तुलनात्मक रुपमा कम अर्थात् रत्नपार्कमा १३३ माइक्रोग्राम प्रति घनमिटर देखिएको छ।

“मापन गरिएका यी क्षेत्रमा हेर्दा मापदण्डभन्दा एकदमै उच्च भएको देखाएको छ,” लामिछानेले भने।

“तराईमा प्रदूषणका घरेलु स्रोत हेर्दा भारतबाट आएको भन्न सकिने अवस्था छ।”

यस्ता मसिना कणबाट जोगिनका लागि सामान्य खालको मास्कको प्रयोगले नहुने जानकारहरू बताउँछन्।

त्यसका लागि एन९५ र एन९९ भनिने मास्क नै लगाउनुपर्ने लामिछाने बताउँछन्।

दिल्लीमा भने प्रदूषण औसत ८०० माइक्रोग्राम प्रति घनमिटरभन्दा बढी पुगेको छ।

 

स्रोत : बिबिसी नेपाली