२० बैशाख २०८१, बिहीबार

तीन ठूला साझेदारीका सडकको काम शुरु

baglug nagarpslika

नगरका ग्रामीण सडकको स्तरोन्नति र पर्यटकीय क्षेत्रमा सडक सञ्जालको विस्तार थालेको बागलुङ नगरपालिकाले तीन ठूला साझेदारीका सडकको काम शुरु गरेको छ । सङ्घीय सरकारसँगको समपूरक अनुदान साझेदारीको एक, प्रदेश सरकारसँगको साझेदारीको एक र स्थानीय पूर्वाधार विकास साझेदारीको एक सडकको काम शुरु भएको हो ।

वडा नं १२ अमलाचौरमा रहेको प्रसिद्ध कालभैरव मन्दिर जाने ३.१ किलोमिटर सडक कालोपत्रको काम थालिएको छ । जिल्ला सदरमुकामसँग यो सडकले मन्दिरलाई जोड्ने छ । चालू आर्थिक वर्षमा नगरपालिकाले सञ्चालन गर्ने सडक आयोजनामा यो सबैभन्दा ठूलो आयोजना हो ।

वडा नं १३ पैँयुपाटाको काभ्रेडाँडा जल्किनी घुम्तीदेखि चिसाखोलाहुँदै अमलाचौरको भैरवस्थानसम्मको सडक स्तरोन्नतिसँगै कालोपत्र गर्ने काम शुरु भएको इञ्जिनीयर मनोज शर्माले बताउनुभयो । रु आठ करोड ७२ लाख २८ हजार बजेट रहेको सो सडक रु छ करोड ३० लाख ४४ हजारमा निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको छ ।

सङ्घीय सरकारको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत अनुदानमा सो सडक कालोपत्रको काम शुरु भएको हो । दुई वर्षे कार्यक्रम भए पनि गत वर्ष काम हुन नसकेको उक्त सडक स्तरोन्नतिसहित कालोपत्रको काम आगामी असार मसान्तसम्म सक्नुपर्नेछ । रौताहा कन्स्ट्रक्सन प्रालीले सो सडक निर्माणको जिम्मेवारी पाएको शर्माले बताउनुभयो ।

गत आवमा केही स्तरोन्नति भएका ती सडक क्रमागत छन् । पानी ट्याङ्की–बलेवा विमानस्थल सडक र पाउजा–अमलाचौर सडक गत वर्ष केही ठाउँमा ढलान र कालोपत्र भएका छन् । गण्डकी प्रदेश सरकारको समपूरक अनुदानमा साझेदारी गरेर तित्याङको बुकेनी मनकामनादेखि डिहीडाँडाहुँदै सिमस्वारा सडक स्तरोन्नतिको काम शुरु भएको छ । रु एक करोड ६६ लाख ६४ हजार बजेट विनियोजन भएको यो सडक रु ८४ लाख ४० हजारमा ठेक्का सम्झौता भएको छ । सातबिसे कन्स्ट्रक्सन चितवनले काम थालेको प्रविधिक शाखाले जनाएको छ ।

वडा नं ६ र ३ को सिमानामा पर्ने भलाटाकुरा काभ्रेहुँदै कालीमाटी जोड्ने सडकमा पनि कालोपत्रको काम शुरु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत कालोपत्र थालिएको सो सडक ७५० मिटर कालोपत्र हुनेछ भने यही सडकमा थप रु एक करोड ५० लाख थप गरेर सडकको स्तरोन्नति गरिनेछ । रु ९९ लाख ९९ हजार ९१० बजेट रहेको उक्त सडकको काम बिएमए निर्माण सेवा बागलुङले रु ९५ लाख ४१ हजारमा गर्नेगरी जिम्मेवारी लिएको छ ।

स्थानीय सडकको स्तरोन्नति हुँदा वर्षायाममा बन्द रहने सडक सञ्चालनमा सहज हुने नगरपालिकाले जनाएको छ । बागलुङ बजारभित्रका सडकको मर्मतको कामलाई पनि प्राथमिकतामा राखिएको छ । सडक बोर्ड नेपालसँगको सहकार्यमा बजारक्षेत्रभित्र भत्किएका सडक टालटुल पार्ने काम चलिरहेको शर्माले बताउनुभयो ।