४ बैशाख २०८१, मंगलवार

नेपाली काँग्रेसको महाधिवेशन सर्ने !

nepali congress

नेपाली काँग्रेसको फागुनमा हुने १४औँ महाधिवेशनको तयारी तीव्र बनाउन कोरोना भाइरस (कोभिड–१९) बाधक देखिएको छ । कोरोना सङ्क्रमणका कारण तयारी गर्न कठिन भएपछि महाधिवेशन सर्ने सम्भावना देखिएको छ ।

महाधिवेशनका लागि वडा तहमा क्रियाशील सदस्यता वितरणको कार्य धेरै जिल्लामा जारी रहे पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढी भएका जिल्लामा सदस्यता वितरण कार्य अगाडि बढ्न सकेको छैन ।

तत्कालीन फोरम लोकतान्त्रिकसँग २०७४ असोज २८ गते भएको सहमति अनुसार हुनुपर्ने समायोजन प्रक्रिया टुङ्गोमा पुगेको छैन । हालसम्म ७३ जिल्लाको सकिएको र चार जिल्लाको बाँकी छ । सिरहा, सप्तरी, बारा र सिन्धुपाल्चोकको समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिनुभयो ।

समायोजन प्रक्रिया पूरा भएका ७० जिल्लाले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण गर्न फाराम लगिसकेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलको भनाइ छ । पछिल्लो पटक केन्द्रीय कार्यसमितिको असार २२ गते बसेको बैठकले समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टी अन्तरिम संरचनाको समायोजन गर्ने अन्तिम समयसीमा साउन १० गतेसम्म तोकेको थियो ।

सबै जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने र नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने कार्य सम्पन्न गरिसक्नुपर्ने समयसीमा साउन मसान्तसम्म तोकेको थियो । केन्द्रले अहिलेसम्म त्यस बारेमा के गर्ने भनेर निर्णय गर्न
सकेको छैन ।

पार्टीका मुख्य सचिव पौडेलले कोरोना प्रभाव कम भएका धेरै जिल्लाले असोजभित्र क्रियाशील सदस्यता वितरणको कामलाई अन्तिम रूप दिन लागेको जानकारी दिनुभयो । क्रियाशील सदस्यता वितरणको प्रक्रियाले पूर्णता पाएको दुई महिनाभित्र सबै तहका अधिवेशन गर्न सकिने भनाइ पौडेलको छ ।

काँग्रेसको साउन २२ मा बसेको पदाधिकारी बैठकले १४औँ महाधिवेशन गर्न क्रियाशील सदस्यको सङ्ख्या शतप्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । यही असोज २५ गते
बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनको कार्यतालिकामा परिमार्जन गर्ने जानकारी पनि पौडेलले दिनुभयो ।