२६ बैशाख २०८१, बुधबार

राप्रपालाई एकीकरणको वैधानिकता प्राप्त

raprapa

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को एकीकरणलाई वैधानिकता दिएको छ। आयोगको बैठकबाट ती दुई पार्टीबीच एकीकरण गरी राप्रपाका नाममा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिँदै पार्टी अध्यक्ष कमल थापाले भन्नुभयो, एकीकरणले वैधानिकता प्राप्त गरेकामा गौरव लागेको छ ।

प्रजातन्त्रको पुनःस्थापनापछि विसं २०४७ जेठ १५ गते पूर्वपञ्चहरुको समूहले राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा र चन्द) का नाममा बेग्लाबेग्लै राजनैतिक दल खोलेसँगै उक्त पार्टीमा पटकपटक एकीकरण र विभाजनको अभ्यास चल्दै आएको छ ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द संस्थापक रहेको उक्त पार्टी एकीकरण हुँदा ‘राप्रपा’ नाम रहे पनि विभाजन हुँदाका बखत राष्ट्रिय जनशक्ति पार्टी, राप्रपा नेपाल, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) जस्ता विभिन्न दल बन्न पुगे । एकीकरणपछि अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ भने चुनावचिह्न ‘हलो’ हुने छ ।

एकता महाधिवेशनपछि विस २०७३ मा विभाजित पार्टीलाई आफ्नै कार्यकालमा पुनःएकीकृत गर्न सकेकामा प्रसन्नता व्यक्त गर्दै अध्यक्ष थापाले भन्नुभयो, आगामी चुनावबाट हामीले राप्रपालाई देशको अग्रणी शक्ति बनाउने सङ्कल्प गर्नुपरेको छ ।

चुनावचिह्न जनतासम्म पु¥याउन सम्पूर्ण पार्टी पङ्क्तिलाई सामाजिक सञ्जालमा चुनावचिह्न अंङकित झण्डा समावेश गर्न अध्यक्ष थापाले निर्देशन पनि दिनुभयो ।