१४ बैशाख २०८१, शुक्रबार

सरकारले अनशनरत चिकित्सक केसीसँग वार्ताका लागि समिति गठन

Dr govinda kc

सरकारले अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन भएको हो । प्रा डा केसी गत २४ दिनदेखि जुम्लाबाट शुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा रहनुभएको छ ।

मङ्गलबार सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उहाँले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि आज समिति गठन गरिएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहनुभएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मङ्गलबारको सचिवालय बैठकमा प्रा डा केसीको जीवन रक्षाका सन्दर्भमा छलफल हुँदा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले लागि सो विषयमा सरकार गम्भीर रहेको र वार्ताका लागि प्रक्रिया शुरु भइसकेको जनाउनुभएको थियो ।

बैठकले कोरोना महामारीको विषम स्थितिमा अनशन अन्त्य गराई वार्ताबाट समस्याको समाधान गर्न प्रा डा केसीलाई आग्रह गरेको थियो । सरकारले प्रा डा केसीका अधिकांश माग पूरा भइसकेको जनाउँदै आएको छ ।

डा. केसीको जीवनरक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई असनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता वेद भट्टराईले विज्ञप्ति जारी गर्दै वार्ता र संवादको माध्यमबाटै कुनै पनि समस्याको समाधान हुने भएकाले त्यसतर्फ समयमै सार्थक पहल गरी डा केसीको जीवन रक्षा गर्न आग्रह गर्नु भएको हो ।

उहाँले आफ्ना माग पूरा गराउन आमरण अनसन जस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न पनि आयोगले डा केसीलाई आग्रह गरेको छ ।

विज्ञप्तिमा उहाँले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा जस्तो आधारभूत मानव अधिकारको विषयमा सरकार र डा केसीबीच विगतमा भएका सम्झौताको कार्यान्वयन अवस्था सार्वजनिक गर्न पत्राचार गरिएको उहाँले बताउनु भएको छ ।

विज्ञप्तिमा सरकारलाई डा केसीको स्वास्थ्य अवस्था र उचित मागप्रति समयमै संवेदनशील बन्न समेत आग्रह गरिएको छ। डा. केसीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको वागमती प्रदेश कार्यालयको टोलीले आज महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी अनुगमन समेत गरेको छ ।

लामो समयदेखि चिकित्सा शिक्षा सुधारको लागि नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयनलगायतका माग राखी पछिल्लोपटक गत भदौ २९ गतेदेखि आमरण अनसनमा रहनु भएका डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्तजनक बन्दै गइरहेकोप्रति आयोगको ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा जनाइएको छ । निजको स्वास्थ्य अवस्था सम्बन्धमा सरकारबाट चासोका साथ नहेरिएको अनुगमनको क्रममा पाइएको आयोगका प्रवक्ता भट्टराईले बताउनुभयो ।