२० बैशाख २०८१, बिहीबार

अब सवारीमा ‘चेन लक’

lock
फाइल फोटो

नियम विपरित गलत ठाउँमा सवारी पार्किङ गर्नुभएको छ ? केही समयका लागि मात्रै त हो भनेर जथाभावी सवारी छाडेर हिँड्नुभएको छ ? यस्तो गर्नुभएको छ भने होशियार हुनुहोला ! कारवाहीमा पर्नुहोला ।

जथाभावी पार्किङ गर्ने क्रम बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालले अब ‘चेन लक’ को अवधारणा ल्याएको छ । तोकिएको ठाउँमा भन्दा बाहेक पार्किङ गर्ने सवारीलाई ‘चेन लक’ गराएर सम्बन्धित धनीलाई जरीवाना गरिएको कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो ।

“पार्किङलाई व्यवस्थित गर्न र सर्वसाधारणलाई सचेत गराउन चेन लकको अवधारणा ल्याएका हौ, जहाँपायो त्यहाँ पार्किङ गर्ने सवारी कारवाहीमा पर्छन्,” उहाँले भन्नुभयो । उहाँका अनुसार निषेधित स्थानमा पार्किङ गरेको देख्नेबित्तिकै सवारी साधन चलाउन नमिल्ने गरी ‘चेन लक’ गरिनेछ । त्यसो गर्दा चेनमै प्रहरीको नम्बर टाँस गरिनेछ । “उक्त नम्बरमा फोन गरेपछि सम्बन्धित सवारीधनीले कार्यालयमा आएर जरीवाना तिरेपछि मात्रै प्रहरीले चेन खोलिदिन्छ,” उहाँले भन्नुभयो, “त्यस्ता व्यक्तिहरुलाई रु एक हजार जरीवाना हुनेछ ।”

कतिपय ठाउँमा निषेधित स्थानमा पार्किङ गरेर सम्बन्धित धनी कामका लागि अन्यत्रै जाने गरेका छन् । “त्यस्तो बेला प्रहरी कुरेर बसिराख्न भ्याउँदैन, सवारीमा चेन लक गरेपछि प्रहरी आफ्नो नियमित काममा जान्छ,” प्रमुख रानाभाटले भन्नुभयो, “सवारी लक भएको थाहा पाएपछि सम्बन्धित धनीले नै फोन गर्छन् ।” दमौली बजारको पार्किङ व्यवस्थापनका लागि यो अभियान सफल हुने प्रहरीले विश्वास लिएको छ ।

प्रहरीले उद्योग वाणिज्य सङ्घको समन्वयमा दमौली प्रवेश गर्ने बुल्दीपुलदेखि मादीपुलसम्मको क्षेत्रलाई ‘नो हर्न: नो ओभरटेक’ घोषणा गरिसकेको छ । साथै सङ्घकै सहयोगमा दमौलीका विभिन्न ठाउँमा ट्राफिक कोण समेत राखिएको छ ।

    सम्बन्धित समाचार...