७ बैशाख २०८१, शुक्रबार

कोरोना कहरः १५३ वर्षमा रोकियो रामलीला मञ्चन

ramlila

नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यो वर्ष नहुने भएको छ ।

विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन यो वर्ष कोरोना महामारीका कारण पहिलोपटक स्थगित गर्नुपरेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना भाइरस महामारीको जोखिम र स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै यसपटकको सो मञ्चन नगर्ने निर्णय भएको हो । एक सय ५३ औँ वर्ष प्रवेश गरेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको उक्त मञ्चनलाई यसपटक कोरोना महामारीका कारण सार्वजनिक रुपमा नमनाइए पनि प्रतिकात्मकस्वरुप सोही स्थानमा पूजापाठ गरिने छ ।

नेपालगञ्ज उपमहानगरपालिका–९ स्थित रामलीला मैदानमा हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म ऐतिहासिक तथा सांस्कृतिक महत्वको यो पर्व भब्य रुपमा मनाउने गरिन्थ्यो । रामलीलामा भारत तथा नेपालका कलाकारले मञ्चन गर्दै आएका थिए । यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको सञ्चालक समितिका अध्यक्ष कनोडियाको भनाइ छ ।

कार्यक्रम स्थगित गरिए पनि अहिलेको विषम परिस्थितिमा अन्य कार्यक्रमका स्वरुप र सञ्चालन प्रक्रियाबारे राय प्रस्तुत गर्न विष्णुलाल कुमालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । यसको एउटा महत्वपूर्ण अङ्ग श्रीराम चरित्र वाचन गरिने भएको छ । नौ दिनसम्म वाचन गरेपछि दशौँदिन हवन गरेर प्रतिकात्मक कार्य सम्पन्न गर्ने गरी कार्यक्रम तय भएको कार्यक्रमस्वरुप र सञ्चालन प्रक्रियाबारे राय प्रस्तुत गर्न गठित कार्यदलका संयोजक कुमालले जानकारी दिनुभयो ।

रामायणमा आधारित लीला प्रत्येक दिन राति ८ बजेदेखि रामको राज्याभिषेक गरुञ्जेलसम्म जारी रहन्थ्यो । भारतको वृन्दावनबाट आउने कलाकारको टोलीले रामलीला मञ्चन गर्ने परम्परा रहेको थियो । रामलीलाले धार्मिक र सांस्कृतिक सन्देशसँगै आपसी एकता तथा भ्रातृत्व भावमा मद्दत पु¥याउँदै आएको विश्वास गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले नयाँ पिँढीका युवालाई पनि धेरै पाठ सिकाउन सफल भएको बताउनुभयो ।

यो वर्ष नभएपनि पुर्खाले जोगाउँदै आएको रामलिलालाई अहिलेको पुस्ताले निरन्तरता दिएर जोगाउन आवश्यक रहेको सञ्चालक समिति सदस्य एवं नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले उल्लेख गर्नुभयो । सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हँुदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयबीच लोकप्रिय छ । विगतमा भारतको उत्तरप्रदेशबाट समेत हजारौँ श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेको वैश्यले स्मरण गर्नुभयो ।

    सम्बन्धित समाचार...