७ बैशाख २०८१, शुक्रबार

घोराहीमा चक्रपथ बन्दै

ghorahi upanagarapalika

घोराही उपमहानगरपालिकाले चक्रपथ निर्माणको योजना अघि सारेको छ । नगरपालिकाले आफ्ना नौ वडालाई समेटेर बनाएको चक्रपथको नक्शाले अहिलेको सबै वडालाई समेट्न नसकेकाले परिमार्जन गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले परिमार्जन गरेको नक्शानुसार कामको शुरुआत घोराहीको वडा नं १८ बाट हुन थालेको नगर प्रवक्ता भरत अर्यालले बताउनुभयो । उपमहानगरपालिकाभित्र निर्माण गर्ने भनिए तापनि लामो सयमदेखि रोकिएको चक्रपथ निर्माणको काम यसै सातादेखि शुरु हुने भएको छ । अहिले निर्माण गर्न थालिएको चक्रपथ पहिलेको नगरपालिका हुँदा गरिएको नक्शाङ्कनभन्दा केही परिवर्तन भएको छ । अहिले पहिलो चरणमा घोराही १८ बाट काम शुरु गर्न थालिएको प्रवक्ता अर्यालको भनाइ छ ।

पहिलो चरणमा वडा नं १८ का बाँसखोली, सालघारी, अम्बापुर, मसिना, गिठेपानी, रानीजरुवा हँुदै बाह्रकुने दहसम्म पु¥याइने प्रवक्ता अर्यालले बताउनुभयो । यसका लागि सम्बन्धित टोल विकास संस्थासँग छलफल भइरहेको छ । “केही टोलहरुले सहमतिको निर्णय गरेर दिइसक्नु भएको छ भने अरुले केही दिनमा पठाउने बताउनुभएको छ”, प्रवक्ता अर्यालले भन्नुभयो ।

चक्रपथ निर्माणका लागि केही दिनमा बोलपत्रसमेत आह्वान गरेर चालु आर्थिक वर्षभित्रमा नै सम्पन्न गरिने उहाँको भनाइ छ । “यसै आर्थिक वर्षको बजेटले १८ नं वडाभिभत्र नालासहित बाटो पक्की गरिने छ”, प्रवक्ता अर्यालले भन्नुभयो । अहिले परिमार्जन गरिएको चक्रपथ नालासहित १२ मिटरको हुनेछ । यसका लागि करिब रु २० करोड बजेट खर्च हुने अनुमान उपमहानगरपालिकाले गरेको छ । बोलपत्र आह्वान गरेपछि खर्च हुने रकम निश्चित हुने उपमहानगरपालिका स्रोतले बताएको छ । पहिलो चरणको काम वडा नं १८ मा सम्पन्न भएपछि दोस्रो चरणको काम अगाडि बढ्ने प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

साविकमा त्रिभुवन नगरपालिका हँुदा नै नगरपालिकालाई सडक सञ्जालले जोड्ने गरी चक्रपथ निर्माणलाई अगाडि बढाइएको भए पनि घोराही नगरपालिका बन्दासम्म पनि त्यसले पूर्णता पाउन सकेको थिएन । चक्रपथ निर्माणका क्रममा स्थानीय बासिन्दाले असहमति जनाएर विवाद भएपछि निर्माण रोकिएको थियो । सहमति भएका केही स्थानमा सामान्य बाटो खोल्ने कामसमेत त्रिभुवन नगरपालिका हुँदा नै गरिएको थियो । यसरी रोकिएको काम जनप्रतिनिधि आएपछि गति लिने नगरवासीले अपेक्षा गरे पनि लामो समयसम्म पनि चक्रपथले गति लिन सकेको थिएन ।

अहिले उपमहानगरपालिकाले चक्रपथ निर्माणलाई अगाडि बढाउन खोजेको छ । स्थानीय नागरिकको सहमति लिएर निर्माण अगाडि बढाएमा मात्र सम्पन्न गर्न सकिने नगरवासी बताउँछन् ।