१४ बैशाख २०८१, शुक्रबार

प्रचण्डलाई ईश्वर पोखरेलको दनक, आलोपालो प्रधानमन्त्री हुने सहमति कहाँ भएको छ ?

DPM Ishwar Pokhrel Biratnagar

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्कमल दाहालबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको दाबी गरेका छन् ।

‘नेकपाका अध्यक्षद्वयबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषय बाहिर आएको छ’, विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुुवै अध्यक्षबीच पार्टी एकीकरणका बेला त्यस्तो कुनै सहमति नभएको प्रष्ट पारे । सञ्चारकर्मीसँग उल्टै प्रश्न गरे, ‘केपी ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने भनेर कहाँ सहमति भएको छ ? ’

“अखबारमा आएका दुुई अध्यक्षबीच विवादसम्बन्धी समाचारमा सत्यता नभएको” टिप्पणी गर्दै उनले आवश्यकताअनुुसार दुुवै अध्यक्षले पार्टीको कामको जिम्मेवारी लिन सक्नुहुने धारणा व्यक्त गरे ।

फरक प्रसंगमा रक्षामन्त्री पोखरेलले विगत र आगतमा भएका जस्तासुकै अपराधको अनुहार नहेरी सरकारले अनुसन्धान गर्ने बताए ।

‘तथ्यसहित बाहिर आएका अपराधका घटनामा संलग्नको अनुहार र पद केही नहेरी सरकारले कारबाही गर्छ’, पोखरेलले भने । तत्कालीन माओवादीले चलाएको सशस्त्र जनयुद्धलाई भने अपराधसँग जोडेर हेर्न नहुने उनको मत छ  ।

विधि र प्रक्रिया अनुसार नै आलमलाई पक्राउ गरेको भन्दै उनले यसलाई सहज रूपमा लिन कांग्रेससँग अनुराेध गरे ।

पोखरेलले विप्लव माओवादीले हत्या हिंसाको घटना नत्यागेसम्म वार्ता हुन नसक्ने पनि  प्रष्ट पारे ।