१२ बैशाख २०८१, बुधबार

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको श्रीमती हुँ भन्ने खड्काले मुद्दा फिर्ता लिइन्

sherdhan rai and balika khadka
फाइल फोटो

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्व काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अंश मुद्दा फिर्ता भएको छ।  मुख्यमन्त्री राईले आफूमाथि यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी गर्ने दोलखाकी नेकपा कार्यकर्ता बालिका खड्काले मुद्दा फिर्ता लिएकी छिन् ।

खड्काले फिराद पत्रमा आफू राईकी पत्नी रहेको दाबीसहित नाता कायम गरी अंश माग गरेकी थिइन्। यसरी मुद्दा फिर्ता लिएपछि कतै उजुरबाजुर नलाग्ने कानुनी व्यवस्था छ।

आफूले अरुको उक्साहटमा परेर मुख्यमन्त्री राईलाई त्यस्तो आरोप लगाएको भन्दै वालिकाले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् । मुलुकी देवानी कार्यविधी संहिता, २०७४ को दफा १९६ बमोजिम यो मुद्दा फिर्ता लिएको कागज लेखी/लेखाई जिल्ला अदालतमा ३१ गते निवेदन दिएकी हुन्।  

आफूलाई विपक्षी शेरधन राईले रिलेसनमा बसौं भनेको बताउँदै बालिकाले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा राईबाट अंश मागदाबी गरेकी थिइन् ।

युवतीको निवेदन र मुद्दा फिर्ताको कागज गरी बुझाएपछि जिल्ला अदालत काठमाडौंले राई विरुद्ध लागेको अंश मुद्दा खारेज गरी लगत कट्टा गरेको छ ।

आफूले लिएको अंश दाबी साबित गर्न नसक्ने भएकाले खड्काले दिएको निवेदनका आधारमा अदालतले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९६ बमोजिम मुद्वा फिर्ताको आदेश दिएको हो। 

खड्काले आफू अरुको उक्साहटमा परेर मुद्दा हालेको बताउँदै निवेदनमा गल्ती स्वीकार गरेकी छन्।  

बुधबार दिएको निवेदनका आधारमा अदालतले बुधबारै मुद्दा फिर्ताको आदेश दिएको हो। राईसँग अंश माग गर्न पतिपत्नीको नाता कायम भएको वा हुन सक्ने कुनै आधार प्रमाण नभएको तथा त्यस्तो कुनै सम्बन्धसमेत नरहेको दाबी खड्काको निवेदनमा छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले अंशचलनको मुद्दा फिर्तासम्बन्धी आदेश दिएको छ ।

firadpatra

मुख्यमन्त्री राईमाथि करिब ५ वर्षअघिदेखि यौन दुव्र्यवहारको आरोप सार्वजनिकरुपमै लगाउँदै आएकी खड्काले बुधबार जिल्ला अदालतसमक्ष गरेको कागजमा भनेकी छिन्, ‘म आफू अरुको दुरुत्साहनमा परी शेरधन राईकी श्रीमती भनी दाबी गरी अंश माग गरिएको हो ।’

मुख्यमन्त्री राईविरुद्ध मुद्दा लगाउने खड्का पनि नेकपाकै कार्यकर्ता हुन् । उनले नेकपा नेता कृपासुर शेर्पाको उक्साहटमा आफूविरुद्ध मुद्दा हालेको भन्दै शेरधनले तत्कालीन एमालेका अध्यक्ष केपी ओलीसमक्ष निवेदन दिएका थिए । तर, पार्टीले आफूलाई न्याय नदिएको शेरधनले गुनासो गर्दै आएका थिए ।

आफूमाथि गलत आरोप लगाएको भन्दै मुख्यमन्त्री राईले खड्काविरुद्ध तत्कालीन आइजीपी सर्वेन्द्र खनालसमक्ष पनि उजुरी गरेको तर, प्रहरीले यसबारे छानविन प्रक्रिया अघि नबढाएको गुनासो राईले गर्दै आएका थिए ।

उनको निवेदनपछि जिल्ला अदालत काठमाडौंले मुद्दा दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइदिनु भन्ने आदेश गरेको छ।

ujuri1 20200916153944