११ बैशाख २०८१, मंगलवार

रोनाल्डोलाई पछि पारेर मेसी विश्वकै सर्वाधिक कमाउने खेलाडी, शीर्ष १० मा को-को ?

messi ronaldo

बार्सिलोनाका फरवार्ड लिओनल मेसी सर्वाधिक कमाउने फुटबलरको शीर्ष स्थानमा रहन सफल भएका छन्।

फोर्ब्सका अनुसार स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड मेसी सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका हुन्।

फोर्ब्सले मेसीको वार्षीक आम्दानी १२६ मिलियन अमेरिकी डलर भएको जनाएको छ। जसमध्ये तलबबाट ९२ मिलियन अमेरिकी डलर मेसीले आम्दानी गरेका छन्। मेसीले प्रायोजनमार्फत ३४ मिलियन अमेरिकी डलर प्राप्त गरेको फोर्ब्सले जनाएको छ।

फोर्ब्सका अनुसार मेसीको करिअरको कमाइ १ बिलियन अमेरिकी डलर पुगिसकेको छ। मेसीले १६ वर्षको करिअरमा दर्जनौ रेकर्ड बनाइसकेका छन्।

मेसीले बार्सिलोनाबाट खेल्नुअघि क्लबले १०५ वर्षमा ६४ उपाधि जितेको थियो। मेसीले बार्सिलोनाबाट खेल्न थालेको १६ वर्षमा क्लबले ३४ उपाधि जित्न सफल भयो।

सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलरको दोस्रो स्थानमा इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो छन्।

रोनाल्डोको कमाइ ११७ मिलियन अमेरिकी डलर रहेको छ। जसमा रोनाल्डोले तलबबाट ७० मिलियन अमेरिकी डलर कमाएका छन्। उनले बाँकी ४७ मिलियन अमेरिकी डलर प्रायोजनमार्फत प्राप्त गरेका छन्।

रोनाल्डोको आफ्नै ब्रान्ड सिआर-७ मार्फत आम्दानी बढेको फोर्ब्सको भनाइ छ। पोर्चुगललाई युरो कप र नेशन्स लिग जिताउन नेतृत्वदायी भूमीका निर्वाह गरेका रोनाल्डोले गत साता सय अन्तर्राष्ट्रिय गोलको कोशेढुंगा पार गरेका थिए।

सर्वाधिक कमाइ गर्ने फुटबलरको तेस्रो स्थानमा फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेइमार छन्। नेइमारको कमाइ ९६ मिलियन अमेरिकी डलर रहेको छ। जसमा ७८ मिलियन तलब र १८ मिलियन प्रायोजनमार्फत प्राप्त भएको छ।

चौथो स्थानमा पिएसजीकै फ्रेञ्च फरवार्ड केलियन एमबाप्पे छन्। एमबाप्पेको कमाइ ४२ मिलियन अमेरिकी डलर रहेको छ। उनले २८ मिलियन तलब र १४ मिलियन प्रायोजनबाट प्राप्त गरेका छन्।

पाँचौ स्थानमा इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहमद सलाह छन्। इजिप्टका सलाहको कमाइ ३७ मिलियन अमेरिकी डलर छ। उनले २४ मिलियन डलर तलब र १३ मिलियन डलर प्रायोजनमार्फत प्राप्त गरेका छन्।

छैटौं स्थानमा म्यानचेस्टर युनाइटेडका पाउल पोब्बा (३४ मिलियन), सातौं स्थानमा बार्सिलोनाका फ्रेञ्च फरवार्ड एन्टोनी ग्रिजम्यान (३३ मिलियन), आठौं स्थानमा रियल म्याड्रिडका गारेथ बेल (२९ मिलियन), नवौ स्थानमा जर्मन क्लब वायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की (२८ मिलियन) र दशौं स्थानमा म्यानचेस्टर युनाइटेडका स्पेनिस गोलकिपर डेभिड डे गिआ (२७ मिलियन) छन्।

यी हुन् सर्वाधिक कमाइ गर्ने १० खेलाडी

  • लियोनल मेसी- १२६ मिलियन अमेरिकी डलर
  • क्रिस्टियानो रोनाल्डो- ११७ मिलियन डलर
  • नेमार- ९६ मिलियन डलर
  • किलिएन एमबाप्पे- ४२ मिलियन डलर
  • मोहम्मद सालाह- ३७ मिलियन अमेरिकी डलर
  • पउल पोग्बा- ३४ मिलियन अमेरिकी डलर
  • एन्टोनी ग्रीजमन- ३३ मिलियन अमेरिकी डलर
  • गारेथ बेल- २९ मिलियन अमेरिकी डलर
  • रोवर्ट लेवान्डोस्की- २८ मिलियन अमेरिकी डलर
  • डेविड डे हेअ- २७ मिलियन अमेरिकी डलर