१६ चैत्र २०८०, शुक्रबार

मुलुकभर १०२ पत्रकारमा कोरोना सङ्क्रमण, सबैभन्दा बढी प्रदेश नं २ मा

journalist corona

नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासङ्घका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं २ मा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश नं १ मा १७, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा १५, प्रदेश नंं ५ मा १२ र कर्णाली प्रदेशमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महासङ्घका सचिव प्रकाश थापाले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेको उहाँको भनाइ छ ।

कार्यस्थलमा गई खटिने पत्रकार, फोटो पत्रकारमा बढी सङ्क्रमण देखिएको छ । महासङ्घका महासचिव रमेश विष्टले सङ्क्रमित भएर आइसोलेशनमा बस्दा पनि पत्रकारले कामलाई भने निरन्तरता दिएको बताउनुभयो ।

महासङ्घले महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका साथ सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर काम गर्न सबैमा अनुरोध गरेको छ ।