१५ चैत्र २०८०, बिहीबार

कोरोना कहरः ‘मजदूरीका लागि पुनः भारत जानुपर्ने वाध्यता’

kanchanpur covid corona
फाइल फोटो

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि नेपाल–भारत सीमा नाका बन्द र लकडाउन लगाउँदा भारतबाट स्वदेश फर्किनेहरुको चाप रहेको कञ्चनपुरको गड्डाचौकी र डोकेबजारस्थित गौरीफन्टा नाकामा यतिबेला मजदूरीका लागि भारत जानेहरुको चाप बढ्दै गएको छ । भारतमा दैनिक ८० हजारभन्दा बढी सङ्क्रमित थपिनुका साथै दिनहुँ हजारौँको सङ्ख्यामा कोरोना सङ्क्रमणबाट मृत्यु भइरहेको खबर आइरहेका बेला स्वदेशमा रोजगारी नभएपछि बाध्य भएर यहाँका युवा मजदूरीका लागि भारत जानुपरेको बताउँछन् ।

सुदूरपश्चिम प्रदेशको रोजगारीको प्रमुख गन्तव्य रहेको भारतबाट लकडाउन अवधिमा झण्डै डेढ लाख मानिस स्वदेश फर्किएको तथ्याङ्क छ । स्वदेशमा स्वरोजगारका लागि कुनै योजना नहुनुका साथै आफूहरुको परिवारमा रोगभन्दा पनि भोकले मर्ने अवस्था आएपछि भारत जानुको विकल्प नरहेको मुग्लान जानेहरुको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये नौ हजारलाई तत्काल स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अगाडि बढाएको भएपनि रोजगारीका लागि पुनः भारत जाने क्रम बढ्दैछ । सरकारले प्रदेशका नौ वटा जिल्लाका ८८ वटै स्थानीय तह र कृषि ज्ञान केन्द्रमा रोजगारीका लागि आवेदन दिन आह्वान समेत गरेको छ ।

सरकारले कृषि तथा पशुपन्छी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई आवेदन दिन आगामी असोज ६ गतेसम्मको समय तोकेको कृषि ज्ञान केन्द्र महेन्द्रनगरले जनाएको छ । “यहाँ आवेदन दिनेको भीड नै लागेको छ ।” कृषि ज्ञान केन्द्र
महेन्द्रनगरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले भन्नुभयो–“अहिलेसम्म तीन सयभन्दा बढीले आवेदन दिइसकेका छन् ।” उहाँले आवदेन दिएका सबैलाई सरकारले सम्बोधन गर्न भने सम्भव नरहेको बताउनुभयो ।

प्रदेश सरकारले नौ हजार जनालाई स्वरोजगार तथा रोजगारी दिने योजना बनाएको छ । हालै जारी सूचना अनुसार तरकारी खेती, च्याउ खेती, मौरीपालन, भेडा बाख्रापालन, बङ्गुरपालन, फलफूल खेती, गाईभैंसीपालन, माछापालन, स्थानीय कुखुरा र हाँस तथा अन्य मासुजन्य पन्छीपालन, नर्सरी तथा पुष्प व्यवसाय र अन्य गरी १० वटा कृषि क्षेत्रमा काम गर्न इन्छुक व्यक्तिलाई कार्यक्रम दिने भनेको छ ।

लामो समय लकडाउन हुँदा भोक टार्न समेत समस्या हुन थालेपछि बाध्य भएर भारत जान लागेको भीमदत्त नगरपालिका–१३ का सन्त सुनारले बताउनुभयो । “सरकारले घरमै बसेर सुरक्षित रहनुस् भन्छ तर हामीसित अहिले नै छाक टार्न चामल छैन ।” लालाबालासहित गड्डाचौकीबाट भारत जान लागेका सुनारले भन्नुभयो, “सरकारले दिने भनेको रोजगारी पाउने बेलासम्म नै के खाने भन्ने समस्या छ । यतिबेला भारत बस्नुपर्ने हाम्रो बाध्यता हो ।” उहाँले स्वरोजगारको व्यवस्था नभएकाले धेरै स्थानीयहरु विदेशिन बाध्य रहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गौरीफन्टा र गड्डौकी नाकाबाट गरी दैनिक पाँचदेखि छ सय नेपाली भारततर्फ रोजगारीका लागि जान थालेको जनाएको छ । “आधार कार्ड र रासन कार्ड भएका र भारतीय कम्पनीले पनि प्रक्रिया पु¥याएर नेपालीहरुलाई भारत लगिरहेको छ” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भन्नुभयो ।

त्यसैगरी गड्डाचौकी नाकाबाट भारत भइरहेका कृष्णपुर नगरपालिका–२ का बेलुराम चौधरीले लकडाउनमा परिवार पाल्न धौ–धौ भएकाले भारत जान लागेको बताउनुभयो । “लकडाउनकै बेला कोरोनाको त्रासले घर फर्किएँ, अब पनि यहाँ बसेर गुजारा चल्ने नदेखेपछि उतैतिर लागियो” उहाँले भन्नुभयो–“अहिले परिवारको लालनपालनका लागि भारत जानुको अर्को विकल्प रहेन ।”