२१ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिममा महिला हिंसा वृद्धि

सुदूरपश्चिममा महिला हिंसा वृद्धि

सुदूरपश्चिम प्रदेशमा जबरजस्ती करणी, घरेलु हिंसा र आत्महत्याका घटना बढ्न थालेका छन् । पछिल्लो समय कोरोना भाइरस जोखिम हुन नदिन गरिएको लकडाउन अवधिमा विशेष गरी प्रदेशमा जबरजस्ती करणी र बलात्कारका घटनामा बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

गत चैत महिनायता हालसम्म प्रदेशका नौ वटै जिल्लामा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगमा गरी १५० वटा मुद्दा प्रहरीमा आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार गत चैत महिनामा कैलालीमा ६, कञ्चनपुरमा ३, बाजुरा र बझाङ्गमा दुई/दुई र बैतडीमा एक गरी जबरजस्ती करणीका १४ वटा मुद्दा दर्ता भएका छन् । चैतमा जबरजस्ती करणी तर्फ कैलाली र कञ्चनपुरमा दुई/दुई वटा गरी चार वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।

पछिल्लो समय जबरजस्ती करणीका मुद्दाहरु पनि बढ्दै गएको देखिएको छ । त्यसैगरी गत बैशाखमा कैलालीमा ८, कञ्चनपुरमा ३ र डोटी, अछाम, बाजुरा र दार्चुलामा एक/एक गरी जबरजस्ती करणीका घटना प्रहरी कार्यालयमा दर्ता भएका बताइएको छ ।

यस्तै गत जेठमा यहाँ जवरजस्ती करणीमा २३ र जवरजस्ती करणी उद्योगमा ५ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । गत असारमा भने मुद्दा बढेर जबरजस्ती करणीमा २५ र उद्योगमा १२ वटा मुद्दा गरी ३७ वटा मुद्दा यहाँका जिल्ला प्रहरी कार्यालयहरुमा दर्ता भएका छन् । ती मध्ये सबैभन्दा बढी कैलालीमा दुवै मुद्दा गरी २१ वटा दर्ता भएका छन् ।

गत साउनमा पनि जबरजस्ती करणी सम्बन्धी मुद्दा ३२ पुगेको प्रहरी तथ्याङ्कले देखाएको छ ।

साउनमा जबरजस्ती करणीमा २१ र सो सम्बन्धी उद्योगमा ११ वटा मुद्दा दर्ता भएका छन् ।यही भदौ महिनामा पनि जबरस्ती करणी सम्बन्धी १५ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बन्दाबन्दीमा जबरजस्ती करणी र उद्योगमा घटना विगतजस्तैको अवस्थामा रहेको जानकारी दिनुभयो ।

“विगतको तथ्याङ्क हेर्ने हो भनेपनि केही तलमाथि बाहेक समान नै छ ।” उहाँले भन्नुभयो–“बन्दाबन्दी भएर यसप्रकारका मुद्दा बढे भनिहाल्नुपर्ने अवस्था छैन् ।

उहाँले उक्त घटनाहरुमा अभियुक्तहरु कानुनी कारबाहीको दाउरामा रहेको जानकारी दिनुभयो । “अपराधमा संलग्नहरु यी मुद्दामा कोही पनि फरार रहेको अवस्था छैन ।” उहाँले भन्नुभयो–“कोरोना कहरको जोखिमका बीच पनि प्रहरी गाउँबस्ती दुरदराजसम्म पुगेर सुरक्षाको आभाष दिलाइरहेकै छ ।”

त्यसैगरी माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले लकडाउन अवधीमा महिला हिंसाका घटनाहरु बढेको बताउनुभयो । “सबै जना बेरोजगार भए, गुजारा चलाउन पनि गाह्रो हुने स्थित भएकाले हिंसा बढ्ने अवस्था छ ।” उहाँले भन्नुभयो–“अपराध नियन्त्रण गर्न कारवाही पक्ष बलियो हुनुपर्छ ।” उहाँले पछिल्लो अवस्थामा बेरोजगारी समस्या बढिरहेकाले स्वरोजगारका कार्यक्रम ल्याउन आवश्यक छ ।”

उहाँले माइती नेपालमा पनि जवरजस्ती करणी उद्योगका मुद्दाका साथै महिला हिंसाका घटनाहरु लिएर पीडितहरु उजुरी लिएर आइरहेको जानकारी दिनुभयो । “बन्दाबन्दीमा मानव बेचबिखन गर्ने दलालहरुको गिरोह पनि सक्रिय छ ।” उहाँले भन्नुभयो–“भारत आवत जावत सुचारु हुन दिदा विभिन्न चलाखी गरेर सीमा कटाउने प्रयास हुदैछ ।”नेपालीहरुको नक्कली भारतीय परिचयपत्र ल्याएर सीमा कटाउने काम भइरहेको उहाँले बताउनुभयो ।