
नागरिकता लिँदा झुटो विवरण पेस गरेको आरोपमा हेटौंडाका एक उद्योगी पक्राउ परेका छन् ।
मकवानपुर प्रहरीले फर्जी कागजपत्र पेश गरी नेपाली नागरिकता लिएको आरोपमा हेटौंडाका उद्योगीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका—५ बाट ५९ वर्षीय विप्लप कान्ति (विके बोस) नक्कली कागजपत्र बनाइ नागरिकता मुद्दामा मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत रौतहटको पक्राउ पुर्जी र जिल्ला प्रहरी कार्यालय रौतहटको पत्रको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले हेटौंडा गर्दोई स्थित उनको उद्योगबाट पक्राउ गरिएको हो ।
नक्कली कागजपत्र बनाएर उनले रौतहटबाट नागरिकता लिएको आरोप लागेको थियो । सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले उनलाई खोजी गरिरहेको थियो । ‘बोस हेटौंडामा रहेको र उनलाई पक्राउ गर्न मकवानपुर प्रहरीलाई आग्रह भएअनुसार हामीले नियन्त्रणमा लिइएका हौं,’ मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता इन्द्रबहादुर रानाले बोसलाई जिल्ला प्रहरी कार्यालय रौतहटलाई बुझाइने र जिल्ला अदालत रौतहटमै मुद्दा चलाइने जानकारी आएको बताए ।
उनलाई जिल्ला प्रशासन कार्यालय रौतहटमा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोप रहेको छ । मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार पक्राउ परेका उनलाई रौतहट पठाइएको छ ।
‘रौतहट प्रहरीले नागरिकता सम्बन्धमा अनुसन्धान गर्न विप्लप कान्ति (विके बोस) लाई पक्राउ गरी पठाउनको लागि अनुरोध गरे बमोजिम मकवानपुर प्रहरी मार्फत, आवश्यक स्वास्थ्य अवस्था जाँच गरी रौतहट प्रहरीको जिम्मा लगाएका छौं’, थप अनुसन्धान रौतहटबाट हुनेछ नायब उपरीक्षक रानाले भने ।
बोस हेटौंडा औद्योगिक क्षेत्रमा रहेको सुपर लेमिकोट्स प्रालि र हेटौंडा गर्दोईमा रहेको नारायणी मिलका सञ्चालक हुन् ।
बोस हेटौंडा औद्योगिक क्षेत्रभित्र सञ्चालित सुपर लेमिकोट्स प्रालिको व्यवस्थापक हुन् भने उद्योग संघ हेटौंडाको पूर्व कार्यसमितिमा सदस्य थिए । उनी जिल्ला ब्याडमिन्टन संघ मकवानपुरको अध्यक्ष समेत हुन् ।
जिल्ला प्रशासन रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीका अनुसार बोसले २०६३ सालमा नागरिकताको घुम्ती टोलीबाट वंशजको नागरिकता लिएका थिए ।
उनको नागरिकतामाथि छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपश्चात गृहमन्त्रालय हुँदै प्रशासन कार्यालयमा जानकारी आएको थियो ।
बोसले २०६३ चैत ६ गते तत्कालीन वडहर्वा गाविस वडा नम्बर ५ बाट नागरिकता लिएको खुलेको छ । उनको नागरिकतामाथि छानविन गर्न गृहमन्त्रालयले २०७६ माघमा जिल्ला प्रशासन कार्यालय रौतहटमा पत्रचार गरेको थियो ।