१२ बैशाख २०८१, बुधबार

नेपाली हत्या आरोपमा भारतीय नागरिक थुनामा

handcuffs

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एक नेपालीको हत्या गरेको आरोपमा भारतीय नागरिक आज थुनामा परेका छन् । नेपाली भूमिमा प्रवेश गरी डाक्नेश्वरी नगरपालिका–६ कटैयाका ६५ वर्षीय रामदेव यादवको हत्या गरेको आरोपमा भारत बिहार मधुवनी जिल्ला, लौकही प्रखण्ड, ग्राम पञ्चायत करियौत–८ का १९ वर्षीय प्रदिपकुमार यादव पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेको अदालतले जनाएको छ ।

अदालतका स्रेस्तेदार कुमार मास्केका अनुसार अदालतको आदेशमा यादव पूर्पक्षका लागि थुनामा परेका छन् । सोही ठाउँका भारतीय २० वर्षीय देवगोरा यादव र १८ वर्षीय सरोज यादवविरुद्ध पनि वारेण्ट जारी गरिएको स्रेस्तेदार मास्केले बताउनुभयो ।

धानबालीमा चर्दै गरेको भैंसीको हुललाई भदौ ६ गते अपरान्ह धपाउन पुगेका किसान रामदेव यादवलाई भैंसी चरवा भारतीय नागरिकहरुले लाठीले निर्घात कुटपिट गरेका थिए ।

गम्भीर घाइते रामदेवको राजविराज, विराटनगर हुँदै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेका बेला भदौ २१ गते मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका प्रहरी निरीक्षक धर्मराज मुडभरीले बताउनुभयो ।

मृतकका छोरा ललनकुमार यादवले दिएको कर्तव्य ज्यानको उजुरी भदौ २२ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा दर्ता भयो । घटनास्थलबाटै गाउँलेको नियन्त्रणमा परेका प्रदिपलाई भदौ १३ गते इलाका प्रहरी कार्यालय पातो हुँदै इलाका प्रहरी कार्यालय कल्याणपुरमा बुझाइएको स्थानीय ओमप्रकाश यादवले जानकारी दिनुभयो ।